नेत्रावती डब्जोङमा किन यस्तो भईरहेको छ, कारण यस्तो छ

Avatar photo
Dhadingpost
आइतवार, अशोज १८, २०७७

महिन्दो वाईवा
धादिङ असोज १८ ।
पछिल्लो समयमा नेत्रावती डब्जोङ गाउँपालिकामा राजनैतिक माहोल तात्तिएको छ । कोभिड १९ ले विश्वलाई नै तरंगित बनाईरहेको अवस्थामा नेपाल पनि यसबाट अछुतो छैन । नेपालमा पनि दिन प्रतिदिन कोभिड संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको छ ।

सरकारले लागु गरेको लकडाउन र सट डाउनको समयवधी समाप्त भए पनि कोभिडको धङ्धङी भने अझै पनि हराई सकेको छैन । कोभिड महामारिको समयमा झन् नेत्रावती डब्जोङ सहित धादिङका केहि गाउँपालिकामा विभिन्न राजनैतिक दलहरुले भने पार्टी प्रवेस कार्यक्रमहरु बढाएका छन् ।

शहर बजारमा हुने विभिन्न नारा जुलुस र विरोध प्रदर्शन त देखि रहेकै हो । यस्ता वेमौषमका सार्वजनिक कार्यक्रमहरुले गाउँ घरलाई पनि छाडेका छैनन । राजनैतिक दलका उच्छ ओहोदाका नेताहरु नै यस्ता कार्यक्रममा उपस्थिती हुने गरेका छन् । यस्ता कार्यक्रमहरुमा न माक्सको प्रयोग भएको छ न दुरी कायम नै भएको छ । गाउँ घरका मान्छेहरुको भेला गराएर गरिरहेको यस्ता सार्वजनिक कार्यक्रमहरुले कोभिड संक्रमणको दर बढ्ने निश्चित प्राय छ ।

दुई हप्ता अघि नेपाली काँग्रेसले सेमजोङमा एक बृहत कार्यक्रम गर्‍यो । जुना कार्यक्रममा सयौं जना नेकपा पापरि त्याग गरी नेपाली काँग्रेसको सदस्यता लिएको घोषणा गर्‍यो । उक्त कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला पूर्व कानुन राज्यमन्त्री दिलमान पाखिन, पूर्व सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना, लगायतका नेताहरुले सदस्यता वितरण गरेका थिए ।

नेपाली काँग्रेसले आफ्ना कार्यकर्ता लगेको समाचार सामाजिक संजालमा सार्वजनिक भए पछि नेकपाबाट विजय भएका गाउँपालिका प्रमुख दुर्गा कुमार शाक्यले फेसबुकमा लेख्नु भयो: एउटा सतिसाल मात्र भिरको टाकुरामा ठिङ्ग उभिन सक्छ ।खिर्रा मौवा बिलाउने कुकाठहरु सामान्य हावा र हुरिले पनि उडाउछ । सतिसालहरु रोपेका छौ, न आतिनुस् । केही दिनमा पानीको फोका जस्तै फुटेर जानेछ । अहिले भिलेनहरुको सिजन हो । हिरोको खेल हेर्न बाँकी छ धैर्य गर्नुस् । खेल पछि कोहि कसैलाई पङ्खा लाउनु नपरोस् । चर्न गाकोहरु चरनमा खान नपार फेरि घर फर्कने छन् । त्यति बेला खोर बनाएकाहरुलाई थाहा हुनेछ नशल सुधारको काम भएनछ भन्ने ।

त्यस्तै नेकपाबाट नै विजय उप प्रमुख उर्मिला तमाङले लेख्नु भयो: सिजन त मुला छर्ने थियो तर मान्छेहरु त भ्रम छर्नमा व्यस्त छन् आज भोलि… यहाँ किन उहाँहरुको प्रतिक्रियालाई महत्व दिइरहनु पर्‍यो भन्ने तपाईंहरुलाई लाग्न सक्छ । यस्को उत्तर अन्त्यतिर पाउनु हुनेछ ।

नेपाली काँग्रेले सेमजोङमा कार्यक्रम गरेर गए । अब नेकपाको पालो आयो । गत हप्ता नेकपाले पनि विभिन्न कार्यक्रमहरु प्रस्तुत गरे । नेत्रावती डब्जोङको वडा नम्बर १ को वडा कमिटिलाई सपथ ग्रहण गर्न पुग्नु भएका सांसद डा रामकुमार अधिकारीको हातबाट २० जना भन्दा बढी काँग्रेसमा प्रवेस गरेकाहरु फेरी नेकपामा नै फर्किए घोषणा गरियो ।

सेमजोङको ताङ्चामा भएको अर्को कार्यक्रममा १०० जना भन्दा बढी काँग्रेस र राप्रपा कार्यकर्ताहरु नेकपामा प्रवेस गरे । सांसद डा. रामकुमार अधिकारीले ताङ्चा पुगेर नव प्रवेसीहरुलाई खादा र टिका लगाई स्वागत गर्नु भएको थियो । फेरि पनि नेकपाले हतारमा दशै नजिकिएको जस्तै गरि दसैंको शुभकामना आदान प्रदान गर्यो ।

उक्त कार्यक्रममा सयौं जना विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा अध्यक्ष नेत्र पौडेलले नै सामाजिक संजालमा पाष्ट गर्नुभयो । उक्त कार्यक्रममा प्रदेश सांसद डा रामकुमार अधिकारीको साथमा संघिय सांसद खेम लोहनी पनि सहभागि हुनुभएको देखिन्थ्यो । अहिले यसरी सेमजोङमा नेपाली काङ्ग्रेस र नेकपाको कार्यकार्ता तान्ने प्रतिस्पर्धा नै चलिरहेको छ ।

आखिर किन यो प्रतिस्पर्धा भईरहेको छ ? यसले गाउँका नागरिकलाई के फाईदा भएको छ ?
यसतर्फ कसैले पनि सोचेको देखिदैन । एकातिर कोभिड १९ को माहामारी विश्व व्यापी छ भने, न नेपालमा कुनै चुनाव नै लागेको छ ? त्यसो भए किन यात्रो कुम्भ मेला भईरहेको छ त । आउनुस् अब यसको बारेमा केहि चर्चा गरौं ।

पहिला
नेपाली काँग्रेसले किन यसरी सार्वजनिक कार्यक्रम गरी कार्यकर्ता बढाउने काम गरिरहेको छ त ? नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले १४ औ महाधिवेशनको कार्यतालिका प्रकाशन गरि आउँदो फागुन ७, ८, ९ गते केन्द्रिय महाधिवेशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । त्यसैले नेपाली काँग्रेस अहिले गाउँ, क्षेत्र जिल्ला हुदै प्रदेश अधिवेशन सक्ने भनेर गाउँ गाउँ पुगेको छ । त्यसैले काँग्रेसलाई केन्द्र देखि गाउँ सम्म अधिवेशनले छपक्कै छोपेको छ । अहिले सेमजोङमा देखिएको नेपाली काँग्रेसको कार्यक्रम पनि यही कार्यतालिका अनुसार भएको हो । नेकपा सँग प्रतिस्पर्धा गर्नको लागि भएको कार्यक्रम नै थिएन ।

दोश्रो
नेकपाले किन सार्वजनिक कार्यक्रम गरिरहेको छ त ? दुई तिहाईको बहुमत रहेको सरकारको पार्टी नेकपालाई काँग्रेसले आफ्नो कार्यकर्ता लाग्यो भन्ने समाचार सार्वजनिक भए पछिको छटपटी हो । त्यति मात्र नभई नेत्रावती डाब्जोङ गाउँपालिकामा नै पनि नेकपाको बहुमत संख्या छ । पालिका प्रमुख, उप प्रमुख नै नेकपाको भएको पालिकामा काँग्रेसले कार्यकर्ता चोर्यो भनेर यत्तिको रोइलो नगरेको भए सोभा देखिन्थ्यो ।

यसको अर्थ यो पनि लगाउन सकिन्छ कि उनीहरुको कार्य शैली प्रती जनता त्यती सन्तुष्ट छैनन् कि भन्ने उनिहरुलाई नै शंका छ । आँफै अधिकार सम्पन्न व्यक्तिहरु भएर पनि राम्रो काम गरेर जनताको मन जित्ने तिर नलागी अर्को विपक्षी पार्टीको कार्यक्रम प्रति यत्तिको हतास देखिदा नेत्रावती डब्जोङका नेकपाको नेताहरु नै अपरिपक्क हुन कि भन्ने संङ्का उत्पन्न हुन्छ । इटको जवाफ पथ्थरले दिन तिर लाग्नु भन्दा पनि आफ्नो हातैमा डाडु र पन्यु भएको समयमा जनताको विश्वास जित्न तिर लागे सम्पूर्ण गाउँबासीले नेकपाको जय जयकार गर्ने छन ।

फेरी अर्को कुरा सेमजोङ नेत्रावती डाब्जोङ गाउँपालिकाको केन्द्र पनि हो । नेकपाका पालिका अध्यक्ष प्रेम तामाङ सेमजोङ कै बासिन्दा हुन् । गत निर्वाचनमा वडा न ३ मा नेपाली काँग्रेसले अध्यक्ष जितेको हो ।

सेमजोङ पालिकाको प्रमुख प्रशासनिक केन्द्र बन्नु तर सेमजोङ नेपाली काँग्रेसको पकडमा रहनुले पनि नेपाली काँग्रेस र नेकपाको प्रतिस्पर्धा अहिले सेमजोङ देखिएको हो । अब आउने चुनावमा सेमजोङ जुनै हालतमा पनि नेकपाले जित्नै पर्ने मानसिक दवाब उनिहरुलाई छ । त्यसैले पनि काँग्रेसको सानो क्रियाकलापमा पनि नेकपाका कार्यकार्ताहरु खरो रुपमा उतृएका छन् । सामाजिक संजालमा काँग्रेसका कार्यकार्ताहरु उति सक्रिय देखिदैनन्, तर नेकपाका जिम्मेवार व्यक्तिहरु नै साना साना बिषयमा पनि प्रतिक्रिया दिईरहेको हामी देख्न सक्छौ ।

खैर, यो पार्टीको प्रतिस्पर्धा त चलिनै रहन्छ । यस्तो किसिमको प्रतिस्पर्धा विकासमा पनि देख्न पाउँ । शिक्षामा विकास होस्, कृषिमा विकास होस् । रिति रिवाज र संस्कृतिको जगेर्ना होस् । समग्रमा समाजको विकास होस् । हामीले गर्न सकिने अपेक्षा भनेको यक्ति नै हो ।