नेपालको रेल भारतसँग सम्झौता भएको १० वर्षमा आयो

Avatar photo
Dhadingpost
शनिबार, अशोज ३, २०७७

काठमाडौं असोज ३ । भारतको जयनगरबाट ओहोरदोहोर गर्ने गरी नयाँ रेल जनकपुर आइपुगेको छ । १० वर्षअघि भएको सम्झौताअनुसार भारत सरकारले अनुदानमा रेलगमार्ग बनाइदिएको छ भने रेलगाडी नेपाल सरकार आफैँले किनेको हो ।

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको भारत भ्रमणको क्रममा सन् २०१० मा माधव नेपाल नेतृत्वको तत्कालीन नेपाल सरकार र मनमोहन सिंह नेतृत्वको भारत सरकारबीच पाँच नाकामा अन्तरदेशीय रेलमार्ग बनाउने समझदारी भएको थियो । जयनगर–जनकपुर–बर्दिबास, जोगबनी–विराटनगर, नौतनवा–भैरहवा, नेपालगन्ज रोड–नेपालगन्ज, न्यु जलपाइगुडी–काँकडभिट्टा रेल निर्माणका लागि त्यसवेला सम्झौता भएको थियो । रेलमार्ग निर्माणका लागि आवश्यक सात अर्ब रुपैयाँ भारतले अनुदान दिने सम्झौता भएको थियो ।

त्यसपछि २०१४ देखि भारतीय पक्षले रेलमार्ग निर्माण थालेको थियो । जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म दुई वर्षअघि अर्थात् २०१८ देखि रेल सञ्चालन गर्ने लक्ष्य थियो । तर, पहिले निर्माणमा ढिलाइ भयो, पछि रेल गाडी खरिदमा । त्यसैले निर्धारित समयभन्दा दुई वर्षपछि रेल आएको हो ।

अहिले जयनगरबाट जनकपुरसम्म–कुर्थासम्म ३४ किलोमिटरमा रेल सञ्चालनका लागि तयार भएको छ भने यही रेलमार्गको जनकपुरबाट बर्दिबासखण्डको ३५ किलोमिटर निर्माण हुन बाँकी छ । कुर्थादेखि बिजलपुरासम्म १८ किलोमिटरमा रेलमार्गको लिग बिछ्याउने काम भइरहेको छ । बिजुलपुराबाट बर्दिबाससम्म १७ किलोमिटर रेलमार्गका लागि जग्गा अधिग्रहण हुन नै बाँकी छ । आगामी डिसेम्बर २०२० अर्थात् आगामी पुससम्म बर्दिबाससम्म रेलमार्ग सम्पन्न गर्ने लक्ष्य थियो । तर, अहिलेसम्म मुआब्जाको नै टुंगो लागेको छैन । भारतको इरकन इन्टरनेसनल कम्पनीले रेलमार्ग निर्माण गरिरहेको छ ।

त्यस्तै, बिजलपुरादेखि बर्दिबाससम्म १७ किलोमिटरसम्म रेल्वे लिकका लागि सर्भे भई जग्गा अधिग्रहण प्रक्रिया थालिएको भए पनि लामो समयदेखि विवादको कारण कुनै प्रगति हुन सकेको छैन । जनकपुरस्थित रेल्वे विभागका इन्जिनियर विनोद ओझाले कोरोना र मूल्यांकनमा विवाद भएकाले तत्काल मुआब्जा वितरण सुरु हुन नसकेको बताए । ‘बिजलपुरादेखि बर्दिबाससम्म ५६६ कित्ताको जग्गालाई मुआब्जा तिर्नुपर्नेछ, यो विषय समाधान हुना साथ निर्माण सुरु हुनेछ,’ उनले भने ।

सीमावर्ती भारतीय बजारसँग नेपाललाई जोड्ने गरी भारतीय अनुदानमा निर्माण हुने भनिएका थप चार रेलमार्गको काम नै सुरु भएको छैन । पहिलो चरणमा विराटनगर–जोगबनी १८ किमि र जयनगर–जनकपुर–बर्दिबास ७९ किमि रेलमार्ग निर्माणको योजना बनेको थियो । दुवै रेलमार्ग सन् २०१५ सम्म सक्ने लक्ष्य थियो । तर, ढिलाइ हुँदा २०१४ बाट मात्र काम थालियो र २०१८ मा सम्पन्न गर्ने म्याद तोकिएको थियो ।

त्यस्तै, भारतको जोगबनीदेखि नेपालको विराटनगरसम्म १८ किलोमिटर रेलमार्ग जोड्ने योजना छ । यसमध्ये अहिलेसम्म १० किलोमिटर रेलमार्ग निर्माण सम्पन्न भएको छ । धेरै ठाउँमा जग्गा विवाद र केही ठाउँमा संरचना विवादको कारण थप प्रगति हुन सकेको छैन ।
नेपाल–भारत जोड्ने अरू तीन रेलमार्गमा ७० किमिको न्यू जलपाइगुडी–काँकडभिट्टा, १५ दशमलव ३० किमिको नौतनवा–भैरहवा र १२ दशमलव १० किमिको रुपैडिया–नेपालगन्ज छन् । पहिलो चरणका दुई रेलमार्ग सम्पन्न गरेर दोस्रो चरणको निर्माण थालनी गर्ने योजना छ । पहिलो चरणको निर्माण नै ढिलो हुँदा दोस्रो चरणका रेलमार्ग निर्माण थालिएको छैन ।

नेपालमा पहिलोपटक ९३ वर्षअघि रेल चलेको हो । ब्रिटिस र राणाकालमा रक्सौल–अमलेखगन्ज रेलमार्ग पनि बनेको थियो । चन्द्रशमशेरको पाला विक्रम सम्वत् १९८४ रक्सौलबाट अमलेखगन्जसम्म रेल आएको थियो ।

त्यस्तै जयनगर जनकपुर महोत्तरी रुटमा पनि ८३ वर्षअघि रेल सञ्चालनमा आएको हो । भारतस्थित ब्रिटिस शासकले महोत्तरीको जंगलबाट काठ ढुवानीका लागि जनकपुरबाट महोत्तरीको बिजुलपुरासम्म ५२ किलोमिटर रेल्वे सुरु गरेको थियो । पछि रेललाई नेपाल जिम्मा लगाएपछि यात्रु बोक्न थालिएको थियो । तर, बाढीले क्षतिग्रस्त भएपछि ०७१ देखि रेलमार्ग पूर्ण बन्द थियो । राणा र ब्रिटिसका पाला बनेको ‘न्यारोगेज’ विस्थापित गरेर अहिले ‘ब्रोडगेज’ रेलमार्ग बनेको छ ।

विगतमा ‘न्यारोगेज’ रेलले जनकपुरदेखि जयनगरसम्म २९ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घन्टा लगाउँथ्यो । अब ब्रोडगेज सेवा सुरु भएपछि एक घन्टामा पुग्न सकिनेछ । ब्रोडगेज रेलमा कम्तीमा १० देखि १५ डब्बा जोड्न सकिनेछ ।

महामारीका कारण सञ्चालन गर्ने मिति टुंगो लागेको छैन । रेल्वे कम्पनी र रेल विभागका अधिकारीहरूले विवाहपञ्चमी (४ पुस)अघि रेल नियमित सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।

कोरोना महामारी नियन्त्रण भई स्वास्थ्यका हिसाबले सुरक्षित हुने निर्णय गरेको भोलिपल्टदेखि सञ्चालन गरिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए । ‘सबैको चाहनाअनुसार हामी सकेसम्म चाँडै सञ्चालन गर्नेछौँ, तर अहिलेको महामारीको समय भएकाले ठ्याक्कै मिति तोक्न भने सकिएन,’ उनले भने ।

रेल सञ्चालन तथा नियमन गर्ने रेल्वे विधेयक संसद्मा विचाराधीन छ । त्यस्तै रेल सञ्चालनसम्बन्धी अझै नियुक्त गरिएको छैन । तर, मन्त्री नेम्वाङले तत्कालका लागि रेल सञ्चालन गर्न कुनै कानुनी अवरोध नरहेको बताए । जनकपुर–जयनगर रेल सञ्चालनका लागि स्थापना भएको नेपाल रेल्वे कम्पनीको नियमावली र प्रबन्धपत्रअनुसार रेल सञ्चालन गर्न सकिने उनको भनाइ छ । ‘तर, देशका अन्य ठाउँमा रेल सञ्चालन गर्नका लागि भने ऐन ल्याउनुपर्नेछ,’ उनले भने ।

रेल सञ्चालनका लागि जनकपुर आइपुगेको छ, तर रेल्वे कम्पनीसँग अहिलेसम्म जनशक्ति छैन । ‘यसअघि रेलचालकसहित २६ जना प्राविधिक कर्मचारी भर्नाका लागि रेल विभागले सूचना प्रकाशित गरेको थियो । तर, एकजनाले पनि जागिरका लागि निवेदन नदिएकाले भारतबाट ल्याउने प्रक्रिया अघि बढेको हो,’ रल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भने । पहिलो चरणमा भारतबाटै प्राविधिक कर्मचारी ल्याउने र उनीहरूकै सहयोगमा नेपालीलाई तालिम दिएर सक्षम बनाउने तयारी छ । यसका लागि न्यूनतम पनि दुई वर्ष लाग्ने भट्टराईको भनाइ छ ।

मन्त्रिपरिषद्ले २६ जना विदेशी र दुई सयजना नेपाली गरी दुई सय २६ कर्मचारी नियुक्त गर्न स्वीकृति दिइसकेको छ । चालक, इन्जिनियर, संकेत देखाउनेलगायतका कर्मचारी भारतबाट र बाँकी प्रशासनिक कर्मचारी नेपाली राखिने तयारी भइरहेको भट्टराईले जानकारी दिए । भारतीय कर्मचारी राख्ने विषयमा नेपाल र भारतबीच सम्झौता हुँदै छ । सम्झौतापत्र भारतीय पक्षले तयार गरिरहेका छन्, त्यसमा दुवै पक्षबीच छलफलपछि सहमति हुनेछ ।

भारतीय रेलमन्त्री पीयूष गोयलले भने, ‘नेपाललाई दुईवटा रेल दिएका छौँ’, तर, भारतले रेलगाडी दिएको होइन, रेलमार्ग बनाइदिएको हो

भारतका रेल्वेमन्त्री पीयूष गोयलले नेपालसँग प्राचीन सांस्कृतिक तथा सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै सम्बन्धलाई नयाँ आयाम दिने गरी नेपाललाई दुईवटा डेमु (डिजेल, इलेक्ट्रिक मल्टिपल युनिट) सेट हस्तान्तरण गरेको बताएका छन् । उनले भनेजस्तै रेलगाडी होइन । रेलमार्ग भारतले बनाइदिएको हो । जयनगर–जनकपुर– बर्दिबासहित पाँच नाकामा रेल सञ्चालनका लागि मार्ग बनाउन भारत सरकारले सात अर्ब रुपैयाँ अनुदान दिने सम्झौता भएको थियो । सो सम्झौताअनुसार जयनगरबाट जनकपुरसम्म रेलमार्ग बनेको हो । रेलगाडी भने नेपाल सरकारले भारतीय कम्पनीसँग किनेको हो, जसको लागत ८४ करोड ६५ लाख ९५ हजार छ ।

नेपाल सरकारले भारत सरकारसँग जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) खरिद प्रक्रियाअनुसार दुईवटा रेल ल्याएको हो । सरकारले ०७६÷७७ को बजेटमा रेलगाडी खरिदका लागि बजेट विनियोजन गरेको थियो । त्यसको भुक्तानीसमेत गरिसकेको रेल विभागले जानकारी दिएको छ ।

जनकपुर–जयनगर चल्ने रेलगाडीमा चार कोच (डिब्बा) छन् । यसले एक हजार तीन सयसम्म यात्रु बोक्नेछ । लिकको डिजाइनअनुसार एक सय किलोमिटर प्रतिघन्टाको गति हुन सक्छ । तर, स्टेसन छोटो दूरीमा भएको हुनाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गति हुनेछ । यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो । डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि, पछाडि दुवै दिशातर्फ गुड्छ । अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाटै अघि बढ्छ । यसको इन्जिन डिजेल र विद्युत् दुवैमार्फत सञ्चालन गर्न सकिन्छ । डिजेलले सञ्चालन हुने मेसिनले उत्पादन गरेको विद्युत्मार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ । नयाँ पत्रिका दैनिकमा खवर छ ।