साउने सक्रान्तिः किन फालिन्छ लुतो ?

Avatar photo
Dhadingpost
बिहिबार, साउन १, २०७७

धादिङ साउन १ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।

फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका अनुसार परापुर्वकाल देखि लुतो फाल्ने चलन रहँदै आएको हो । साउन महिनाको १ गते नेपालका पहाडी भुगोलका गाउँघरमा साँझ लुतो लैजा, पीलो लैजा भन्दै धँयरीको दाउरा जलाएर फाल्ने चलन अहिले पनि छ ।

प्राचिन भनाई अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो । त्यही परम्परा लुतो फाल्ने चलनका अहिले पनि चलिआएको हो ।


पौराणिक विश्वास

वर्तमान समयमा प्रचलनमा रहेको मेषादि निरयण १२ राशिचक्र मध्ये चौथो साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । यस अन्तर्गत कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ । फोटोः सामाजिक संजालबाट