
काठमाडौं जेष्ठ ३० । गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै लकडाउनको अवस्थामा सडकमा निस्किएर गरिने प्रदर्शनले कोरोना फैलिने उच्च जोखिम रहेकाले त्यस्ता गतिविधि नगर्न आव्हान गरेको छ ।
गृहमन्त्रालयका गृहप्रवक्ता केदारनाथ शर्माले लकडाउन उलंघन गरेर प्रदर्शन गर्नेमाथि सरकारले जरिवानादेखि जेल सजाय समेत गर्ने जनाएका छन् । शर्माले बन्दाबन्दीको उलंघन गरेर प्रदर्शन गर्नेमाथि सरकार कडारुपमा प्रस्तुत हुने संकेत गर्दै यसो गर्नेलाई १ सयदेखि ६ सयसम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राखेर कारवाही चलाउन सकिने उल्लेख गरेका छन् ।
‘बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा समेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ’, विज्ञप्तीमा भनिएको छ । तस्वीरः मुकुन्द कालिकोटे
सडक अन्दोलनबारे के भन्दछन् झलनाथ खनाल
नागरिकको स्वतस्फुर्त प्रदर्शनले दलका नेताहरूको पनि ध्यानाकृष्ट गरेको छ । सत्तारुढ दलका वरिष्ठ नेता झलनाथ खनाल सरकारले जनताको असन्तुष्टि र आक्रोश तत्कालै सुन्नुपर्ने बताउँछन् । ‘पहिलो कुरा सरकारको कामबाट जनता सन्तुष्ट हुन सकिरहेका छैनन्, जनताभित्र असन्तोष, विरोध र आक्रोश बढ्दै गएको छ । जनताभित्र गुम्सिरहेको असन्तुष्टि प्रकट हुन थालेको छ । जनताको आक्रोश जुलुस र नाराबाट प्रकट हुन थालेकोे छ । जनताको यो अभिव्यक्तिलाई एउटा लोकतान्त्रिक सरकारले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्छ,’ ।