एसईई दिनु नपर्ने, पसल खुल्ने, निजी गाडी जोरबिजोरमा गुड्ने

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २९, २०७७

काठमाडौं जेष्ठ २९ । सरकारले कोरोना भाईरस ( कोभिड १९) को संक्रमण रोकथाम तथा उपचारका लागि गरेको लडाउनको मोडालिटी परिवर्तन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने निर्णय गरेको हो ।

बैठकले जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने, गत वर्ष रोकिएको कक्षा १० को अन्तमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) यसवर्ष नगर्ने निर्णय लगायतका निर्णयहरु गरेको छ ।

पछिल्लो पटक लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव पनि बनाएको थियो । उच्चस्तरीय समन्वय समितिको छुट्टै प्रस्ताव थियो । दुवै प्रस्तावलाई मर्ज गरेर बनेको प्रस्तावमा बुधबार छलफल भएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा कोरोना महामारीका कारण रोकिएको एसइई परीक्षा तत्काल गर्न सक्ने अवस्था नभएको र शैक्षिक वर्ष क्षति हुन नदिनका लागि सम्बन्धित विद्यालयले गरेको मूल्यांकनलाई नै मान्यता दिने मन्त्रिपरिषदले निर्णय गरे सँगै एसईई परिक्षा नहुने भएको हो ।