
युएई जेष्ठ १७ । कोरोना भाईरस (COVID-19) नियन्त्रणका लागि खाडी मुलुकहरूले लागू गरेको सुरक्षा तथा सावधानी सम्बन्धी प्रतिबन्धहरु विस्तारै खुकुलो बनाउन सुरु गरेका छन् ।
खाडी मुलुकहरू कतार, युएई, साउदी अरेबिया, कुवेत , बहराईन र ओमनले झन्डै दुई महिनादेखी लागू गरेको लकडाउन सम्बन्धी नीतिहरु परिवर्तन गर्दै उद्योग धन्दा, व्यापार , यातायात लगायतका क्षेत्रहरु संचालन गर्न अनुमती जारी गरेका छन् ।
युएईको दुबईमा बुधबारदेखि सम्पूर्ण व्यवसायहरु संचालनमा आएका छन्। साथै सर्वसाधारणको यात्रा तथा घुमफिरमा लगाईएको प्रतिबन्ध समेत हटाईएको छ । यद्यपि सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क तथा पन्जा लगाउने लगायतका सुरक्षा एवं सावधानीका नियमहरु भने अनिवार्य पालना गर्नुपर्ने छ। नियमहरु पालना नगरे भारी मात्रामा जरीवाना समेत तोकिएको छ ।
यसैगरी दुबईका सरकारी कार्यालयहरुमा कार्यरत ५० प्रतिशत कर्मचारीहरु आईतवारदेखि कार्यालयमा हाजिर हुँदैछन् भने आगामी जुन १४ देखि सम्पुर्ण कर्मचारी कार्यालयमा हाजिर भएर सेवा दिनसक्ने जनाएको छ । यद्यपी घरै बसेर काम पनि गर्न पाउनेछन् ।
यता साउदी अरेबियामा पनि रमदान र ईद पर्वको समाप्ति सँगै दुई महिना अघिदेखि लगाईएको बन्देजलाई ३ चरणमा विभाजन गरी खुकुलो बनाउँदै लैजाने निर्णय गरिएको छ । साउदीको आन्तरिक मामिला मन्त्रालयले जनाए अनुसार कोराना संक्रमण नियन्त्रण सम्बन्धी सबै नियमहरुलाई पूर्ण पालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ । त्यस्तै जून २१ पछि त्यहाँ आर्थिक गतिविधिका सम्पूर्ण क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको छ ।
कुवेतले पनि मे ३० देखि लकडाउन पुर्णरुपमा हटाउने निर्णय गरेको छ। त्यहाँ कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि विगत मे १० देखि पूर्ण लकडाउन घोषणा गरिएको थियो । कुवेतले आगामी आईतवारदेखि त्यहाँ साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म आंशिक कर्फ्यु लागू हुने जनाएको छ ।
बहराईनमा गत सातादेखि नै व्यवसायिक गतिविधिहरु शुरु भईसकेको छ । त्यहाँ मे २२ देखि व्यवसायहरु नियमित संचालन गर्न अनुमती दिईएको हो। त्यहाँ मे २७ देखि सुरक्षा तथा सावधानीका उपायहरु पालना गरेर हेयर ड्रेसर तथा शैलुनहरु समेत खोल्न अनुमती दिईएको छ ।
मे २९ देखि ओमनको राजधानी मस्कटमा पनि लकडाउन खुल्ला गरिंदैछ । त्यहाँ एक महिना अघिदेखि पूर्ण लकडाउन लागू गरिएको थियो । आईतवारदेखि त्यहाँका सम्पूर्ण सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारी काममा फर्कदैँछन् ।
कतारले पनि त्यहाँ लागू गरिएका प्रतिबन्धहरु खुकुलो पार्ने संकेत दिएको छ । कोभिड १९ को प्रकोप फैलिने क्रममा कमि नआईसकेकाले त्यहाँ प्रतिबन्धहरु खुलाउने औपचारिक घोषणा भने गरिएको छैन ।