कोरोनाबाट बच्न सतर्कता अपनाउनुस्: प्रधानमन्त्री ओली

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १२, २०७७

काठमाडौं जेष्ठ १२ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहका इस्लाम समुदायलाई शुभकामना दिँदै प्रधान मन्त्री ओलीले जोखिमबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

शुभकामना दिँदै उनले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताए ।

बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रुपमा रहेको बताउँदै एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाएका छन् ।

शुभकामनामा विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै प्रधानमन्त्रीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गरेका छन् ।