
काठमाडौं बैशाख २६ । नेपालमा अहिले सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमित संख्या १०२ जना पुगेको छ भने ३० जना निको भएर फर्किएका छन् ।
नेपालगंजमा रहेको भेरी अस्पतालमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा शुक्रबार एकजनाको संक्रमण पोजेटिभ देखिए सँगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या १ सय २ पुगेको हो ।
अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन् । यस्तै कोशी अस्पतालमा उपचार भइरहेका ८ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको उनले बताए । यससँगै कुल डिस्चार्ज हुने बिरामीको संख्या ३० पुगेको छ ।
अहिलेसम्म देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेका छन् । यसमध्ये प्रदेश १ मा १ हजार ६ सय ४५ जना, प्रदेश २ मा १ हजार २ सय ९१ जना, बागमती प्रदेशमा २ सय ७२ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश ५ मा ५ हजार ८ सय ७ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै, आइसोलेसनमा १ सय ३५ जना रहेका छन् ।
अहिले रुपन्देहीमा ३ जना, नेपालगञ्जमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना र विराटनगरमा १७ जना बिरामीहरुको उपचार भइराखेको प्रवक्ता देवकोटाले बताए । प्रदेशअनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।
