अब चट्याङको पनि पूर्वानुमान गरिने

Avatar photo
Dhadingpost
बैशाख २३, २०७७

काठमाडौं बैशाख २३ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चट्याङको पूर्वामानुमान गर्ने गरी तयारी भइरहेको बताएका छन् ।

सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले बताए । “चट्याङबाट हरेक वर्ष एक सयभन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ”, सरोकार भएका निकायसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने, “समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ ।”

जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताउँछन् । “अरू देशमा यो प्रविधि अहिले पनि छ, अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौँ ” उनले भने ।

विभागले यअसघि वर्षात्, हावाहुरी, बाढी र पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्र्दै आएको छ ।

चट्याङबाट बच्ने उपाय

  • पानी परेको समयमा सकभर घरबाहिर ननिस्कने
  • घर बाहिर भएसकेसम्म चाँडो गरी घरभित्र बस्ने
  • घरका विद्युतीय सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि चट्याङ परेको समयमा प्रयोग नगर्ने
  • दिनको तीन बजेदेखि राती आठ बजेसम्म चट्याङ पर्ने हुनाले उक्त समयमा सकेसम्म घरबाहिरका काम नगर्ने घरभित्रै बस्ने
  • यदि बाहिर भएर घर जान नसक्ने अवस्था भएमा सानो सानो रुखहरूको छेवैमा रुखको उचाइ बराबरको दूरीमा टुक्रुक्क बस्ने ।
  • यदि ठूला रुख आसपासमा भए सकभर त्यसबाट टाढै रहने ।
  • चट्याङ लागेर कोही घाइते भए तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्र लैजाने