
धादिङ बैशाख २३ । पासोको डोरी सहित दुर्लभ जातिमा पर्ने सालक साल्याटार बस्तीमा भेटिएपछि स्थानीयले नियन्त्रणमा लिई डिभिजन वन कार्यालय धादिङलाई बुझाएका छन् ।
जंगलमा थापिएको पासोमा सालक परे सँगै छट पटाउँदा पासो तोड्दै, नेपालमा रहेका स्तनधारी जनावर मध्ये लोपोन्मुख जाति भित्र पर्ने सालक नजिकैको बस्ती सल्यानटार छिरेको हुन सक्ने आसङ्का गरिएको छ ।
सोमबार राती नाईलनको डोरीले शरिर बाधिँएको सालक सल्यानटार बस्तीमा देखिए पछि स्थानीयहरुले नियन्त्रणमा लिई प्रहरीलाई खवर गरेका थिए, भने मंगलबार दिउँसो डिभिजन वन कार्यालयबाट गएका वन्यजन्त्यु प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको थियो ।
शरिरमा पासो (नाईलन डोरी) ले कसिएकोले घाउचोट लागेको, उक्त सालकलाई सामान्य उपचारपछि थप उपचारको लागि डिभिजन वन कार्यालय धादिङबेसी ल्याईएको छ ।
कमिला र धमिरा खाने दुर्लभ जातिको उक्त सालकलाई धादिङबेसीको एउटा बन्द अँध्यारो कोठामा राखेर उसिनेको अण्डा र फलफुल खुवाउने तयारी गरिएको छ, भने शरिरमा लागेको चोट निको भएपछि सल्यानटारका स्थानीय कै रोहोवरमा उक्त स्थानमा नै छाडिने वन कार्यालयले जनाएको छ ।
विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकट ग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् ।
२ हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन । तर, ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले धमिरा र कमिलाको प्रायः धमिरा र कमिला खान्छ । राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ ।
सालक धादिङ लगायत नेपालका विभिन्न जिल्लामा फेला परेको छ । नेपालमा समुद्र सतहदेखि दुई हजार मिटर उचाइको क्षेत्रमा सालक भेटिएको छ । काठमाडौं उपत्यका, धादिङ, चितवन, सुर्खेत, बर्दिया लगायत ४३ जिल्लामा यसबारे अध्ययन थालिएको छ ।
सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने निकुञ्ज ऐनमा व्यवस्था छ । तस्वीरः राजाराम शर्मा
