पोखराको बस कष्टका साथ धादिङ आयो, गोरखाको ८ वटा बस गजुरीबाट फर्काईयो

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १७, २०७७

धादिङ बैशाख १७ । पोखरामा लकडाउनका कारण रोकिएका धादिङ गंगाजमुना गाउँपालिकाका मानिसहरु चढेको बस राती धादिङ त आईपुग्यो तर सिद्धलेक बुङ्चुङबाट पोखरा नै फर्किन भनेर प्रहरीले रोकपछि एक यात्रुले काँग्रेस नेता रामनाथ अधिकारीलाई फोन गरे ।

रामनाथ अधिकारीले सिद्धलेक बुङ्चुङमा पोखराबाट धादिङ आएका यात्रुहरुलाई प्रहरीले उतै फर्कन भन्यो रे सहजिकरण गर्दिनु पर्यो भनेर प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई फोन गरेपछि उनीहरुलाई बिहान ७ बजे बुङ्चुङबाट छाडियो ।

फेरि धादिङबेसी पुछाबजार पुलपारी प्रहरीले रोकेर अब हिडेर जानोस् भनेर रोक्यो, यतिखेर रामनाथ अधिकारी बस रोकिएको ठाउँमा आईसकेका रहेछन् । उनले फेरि हाम्रै अगाडी प्रमुख जिल्ला अधिकारीलाई फोन गरे, स्वास्थ्य चेक जाँच गराएर पठाउनु भन्ने आदेश सिडियो आदेश आयो, अधिकारीले पुछारबजार हेल्थ डेक्समा स्वास्थ्य चेकजाँच गरेर पठाउन डिउटीमा खटिएका प्रहरीलाई आग्रह गरे ।

स्वास्थ्य चेकजाँचका लागि यात्रुहरु तयारी पनि भएका थिए फेरि चेकजाँच पर्दै जहाँ जान हिड्नु भएको हो गई हाल्नोस् भन्दै उक ट्राफिक बस भएको ठाउँमा आएर बस धादिङबेसी पुछारबजारबाट बिहान ८ः३० बजे गंगाजमुना तर्फ मोडियो ।

यस्तै गोरखाबाट काठमाडौमा लकडाउनका कारण रोकिएका आफ्ना नागरिक लिन गएको बसलाई धादिङ गजुरी स्थित प्रहरीले गजुरी नै फर्काई दिएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखामा आइतबार भएको सर्वपक्षीय बैठकले देशका विभिन्न भूभागमा अलपत्र परेका नागरिकहरुलाई स्थानीय तहले व्यवस्थापन गरी सुरक्षित रुपमा गाउँ ल्याउने निर्णय गरे सँगै सिरानचोक गाउँपालिकाले मङ्गलबार ८ वटा बस काठमाडौं पठाए पनि गजुरी प्रहरीले सबै बसलाई फिर्ता पठाई दिएको छ ।

यस घटना पछि सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले प्रेस विज्ञप्ती जारी गर्दै बस फिर्ता गरिनु दुखद भएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ “लकडाउनका कारण काठमाडौँमा फसेका नागरिकहरुको आ-आफ्नो बासस्थानमा फिर्ता हुन पाउने अधिकारलाई आत्मा सम्मान गर्नुको सट्टा अदालतको समेत आदेशको संघीय सरकारले वर्खिलाप गरेको छ । यस कार्यप्रति गाउँपालिकाले खेद प्रकट गर्दछ ।” स्वास्थ्य परीक्षण गरी सुरक्षित रुपमा गाउँ ल्याउने तयारीका साथ मङ्गलबार मात्रै करिब ३ सय जनालाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँस्थित ग्रिन सिटी अस्पतालमा जम्मा पारिएको थियो ।