
काठामाडौं बैशाख १४ । मन्त्रिपरिषद्को बैठकले लकडाउन बैशाख २५ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।
कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै लम्ब्याउन सिफारिस गरे अनुरुप आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन बैशाख २५ गते सम्मका लागि लम्ब्याएको हो ।
सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेपनि धादिङमा भने केहि दिनदेखि जन जिवन सामान्य जस्तै बन्न थालेको छ । धादिङबेसी पुछारबजार प्रहरी बीट सँगै बनाईएको हेल्थ डेक्समा न स्वास्थ्य कर्मी देखिन्छन्, न नगरपालिकाले डेक्सको लागि उपलब्ध गराएको थर्मल गन प्रयोग भएको देखिन्छ ।
व्यवसायी संघ संगठनहरुले बिहान ११ बजे देखि ४ बजे सम्म खाद्यान्न तथा तरकारी पसल खुल्ला गर्ने निर्णय गरे सँगै बजारमा मानिसहरुको चाप ह्वात्तै बढेको देखिन्छ ।
प्रहरीले पनि लकडाउन उल्लङ्घन नगर्न माइकिङ् गरेको सुनिन छाडेको छ, भने सडकमा यातायात पास चेकिङ पनि हुन समेत छाडेको छ ।
बाहिरी जिल्लाबाट मानिसहरु घर फर्कने क्रम बढ्दो छ, यो अवस्थामा न स्वास्थ्य चेक जाँच, न सवारी आगवनमा कडाई गरिएको छ । जसका कारण आम मानिसमा लकडाउन खुकुलो बनाईएको हो भन्न आभास पैदा हुँदै गरेको तर्फ सरोकार निकायहरुको तत्काल ध्यान जान जरुरी देखिन्छ ।