धादिङबेसीमा सागमा सहभागी ११ जना खेलाडीलाई सम्मान

Avatar photo
Dhadingpost
शनिबार, पुस १२, २०७६

धादिङ पुस १२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विभिन्न खेलकुद विधामा सहभागी धादिङका ११ जना खेलाडीलाई सम्मान गरिएको छ ।

धादिङका विभिन्न संघ संस्थाहरुको आयोजनामा शुक्रबार भएको उक्त खेलाडी सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सदस्य सचिव सिलवालले १३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको र अब हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ७५ स्वर्ण पदक जित्ने आशा राखिएको बताएका छन् ।

धादिङमा खेलाडीहरु भएको तर खेल मैदानको स्तरउन्नती नभएकोमा दुख लागेको बताउँदै सदरमुकाममा रहेको कभर्ड हलको सुधार गर्न आग्रह समेत गरे । धादिङबेसीको कभर्डहल यहि आर्थिक बर्षमा सुधार गर्छु भन्दै खेलकुद स्दस्य सचिव सिलवालले सुधारका लागि प्रस्तावना पेसगर्न खेलकुद कार्यलयलाई आग्रह गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि सांसद डा. रामकुमार अधिकारीले जिल्लाको खेलकुद विकासका लागि राज्यका सबै तह योजना वद्ध रुपमा लागेको बताउँदै साग खेलकुदमा धादिङका खेलाडीहरुको सहभागिताले थप उर्जा प्रदान गरेका बताएका थिए ।

विशेष अतिथि अधिकारीले अब स्थानिय तह देखि नै खेलाडीको लागि विशेष प्याकेज बनाएर स्वास्थ्य विमाको योजना बनाईने समेत बताएका थिए ।

सागमा सहभागि खेलाडीहरुको तर्फबाट आफ्नो भनाई राख्दै स्वर्ण विजेता सन्तोषी श्रेष्ठले जिल्ला सदरमुकाममा जिल्लाबासीले भव्य कार्यक्रमका बीच सम्मान गर्दा थप उर्जा मिलेको बताएकी थिईन् ।

कार्यक्रममा बाटो खर्चबापत खेलाडीलाई नगद ५ ५ हजार र सम्मान पत्रले सम्मान गरिको उक्त कार्यक्रम हुन अघि पुछारबाजारबाट खेलाडी सहितको र्याली निकालिएको थियो ।

खेलाडी सम्मानको को अवसरमा आयोजित राष्ट्रिय तेक्वान्दो संघले आयोजना गरेको जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा ३६० जना खेलाडीहरु सहभागि छन् । उक्त प्रतियोगिता शनिबार सम्म चल्ने छ ।

धादिङ बेसी बीचबजार स्थित अाेल्ड हाउस कफिसपले समेत खेलाडीलाई भव्य स्वागत गरेकाे थियाे । कफि सप संचालक शंकर सिलवालले खेलाडीलाई सम्मान गर्न नसक्नेहरु खेल प्रेेमी हुन नसक्ने बताउँदै धादिङका स्थानिय सरकारहरु खेलकुदमा लगानी बढाउन चुकेकाे बताएका थिए ।

यी हुन् धादिङबेसीमा सम्मानित भएका खेलाडीहरु

स्वर्ण पदक विजेता
१. सन्तोषी श्रेष्ठ, १० हजार मिटर दौडमा, ज्वालामुखी गाउँपालिका
२. सोनी गुरुङ, ट्रायथोलनमा सिद्धलेक गाउँपालिका
३. सञ्जिला तिमल्सिना, तेक्वान्दोको पुन्से (१७ देखि २३ वर्षको उमेर समुहमा), त्रिपुरासुन्दरी गाउँपालिका

रजत पदक विजेता
१. आशिष दुवाडी, बक्सिङ (९१ केजी तौल समुह सुपर हेभी), ज्वालामुखि गाउँपालिका
२. गणेश प्रधान, बक्सिङ (८१ केजी तौल समुह लाईट हेभी), नेत्रावती डब्जोङ गाउँपालिका
३. लक्ष्मण मल्ल, ट्रायथोलन अन्तरगत दुवाथोलन, गल्छी गाउँपालिका

कास्य पदक विजेता
१. दिपक अधिकारी, १० हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
२. हरि रिमाल, ५ हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
३. पवन श्रेष्ठ, जुडो तर्फ त्रिपुरासुन्दरी गाउँपालिका

सहभागी
१. दिपक श्रेष्ठ, बक्सिङ, गंगाजमुना गाउँपालिका
२. शरण सामरी, भलिबल, ज्वालामुखी गाउँपालिका