मर्न त मै मरुला,
गर्भमा आएको तिन महिना नपुग्दै,
मेरो लिङको प्रस्ट आकार नबन्दै,
आमाको थोरै महसुस गर्नै नपाई,
छोरि भनेर जन्मनै नपाई
मर्न त मै मरुला,
अह मर्न त मै मरुला,
छोरी पाइस भन्दै आमालाई दिइने यातनामा।
बंश बिनास गर्नी भै भन्दै हजुरआमाले गर्ने गालीमा।
बर्षेनी छोरी जन्माउछ भनी कुरा काट्ने छिमेकिको बचनमा,
अनि प्रत्येक रात आमाले बगाउने आसु सङै,
मर्न त आमाको अपहेलनामा मै मरुला।
हो, मर्न त मै मरुला,
रजस्वला नभएकी केटिमाथी लाग्ने तिम्रो गिद्दे नजरमा,
समाजले लगाउने अनेक किसिमको बन्देजमा,
छोरी भनी गरिने हेलामा हेपाईमा
अनि, बन जङलमा मैले छिगाल्ने रुख सङै
मर्न त मै मरुला ।
मर्न त मै मरुला,
छाउ गोठमा सर्पको डसाईबाट,
आगोको डडाईबाट,
आफ्नै भन्नेहरु बलात्कारबाट
अनि, बिभिन्न रोगका संक्रमणबाट,
मर्न त मै मरुला।
मर्न त मै मरुला,
दाइजो कम भयो भनी मट्टितेलमा जलेर,
सासुको गाली गलौजको यातनाबाट
श्रीमानका प्रेत्यक रातको शोषणबाट
अनि गल्दै गएको देखिने आफ्नै शरीर सङ घिनाउदै
मर्न त मै मरुला।
मर्न त मै मरुला,
श्रीमानका अन्य केटिसङको चक्करबाट
श्रीमानका रक्सी र चुरोटको आदतबाट
श्रीमानका बचन पिटाइबाट
अनि श्रीमानका हेला तिरस्कारबाट
मर्न त मै मरुला ।
मर्न त मै मरुला,
बुडो उमेरमै खाइस भन्ने गालिहरुमा,
सन्तान परदेश पठाइस भन्ने गालिहरुमा
मैले हेर्दा ठेस लाग्छ, भन्ने पाइलाहरुमा
अनि, बोक्सी भनेर लगाइने आरोपहरुमा
मर्न त मै मरुला ।
सजना श्रेष्ठ
धादिङ
प्रकाशित मितिः ०७६ मंसिर २२