सरकारको आलोचना गर्न बाध्य छौं, अब राजीनामा दिन्छौं –संसद अधिकारी

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २, २०७६

धादिङ मंसिर २ । धादिङका प्रदेश संसद डा. रामकुमार अधिकारीले सरकारको आलोचना गर्न बाध्य भएको र सरकारको बुढीगण्डकी जलविद्युतको काम अगाडी नबढाए संसद पदबाट राजीनामा दिने बताएका छन् ।

धादिङ र गोरखाको संगम स्थल आरुघाटबजार क्षेत्रको मुअब्जा अझै नतोकी सरकारले त्यस क्षेत्रको जनतामा उपेक्ष्या मात्र गरेको छैन, बुढीगण्डकी जलविद्युत परियोजनाको कामलाई पनि गम्भीरतका साथ नलिएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

लामो समय घर जग्गा रोक्का हुँदा किनबेच गर्न, ब्यापारी प्रयोजनका लागि बैकमा राख्न नपाएका आरुघाटका स्थानीयहरुले गरेका बन्दलाई सम्बोधन गर्न आरुघाट पुगेका संसद अधिकारीले तपाईहरुको आन्दोलनलाई आफ्नो पूर्ण समर्थन रहेको भन्दै तत्काल माग सम्बोधन गरिनु पर्ने बताएका थिए ।

यस्तै दिनभरको बन्दपछि भएको उक्त कार्यक्रममा नपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नम्बर प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारीले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना ढिलाई भएकोमा गोरखा र धादिङका जनता अब सिंहदरबार जाने आक्रोस व्यक्त गरेका थिए ।

गोरखा जिल्लाको आरुघाट, आखेत र धादिङ जिल्लाको विशालनगर र खहरेबजारको घरजग्गाको मुआब्जा नतोकिँदा र दुई वर्षअघि मुआब्जा बुझेकाहरुको पनि घरगोठ र बोटबिरुवाको मुआब्जा नतोकिँदा डुवान प्रभावितहरु झन पीडित बन्दै गएकोले स्थानीय तहका जनप्रतिनिधिहरुले चरणवद्ध आन्दोलन समेत घोषणा गरेकाछन् । आयोजना प्रभावित क्षेत्रका नागरिकसंग ऐक्यवद्धता जनाउँदै आन्दोलन गर्नुपरेको त्रिपुरासुन्दरी गाउँपालिका ७ नं. वडाका अध्यक्ष देवराज धरेलले बताउँछन् ।

तस्वीरः धर्मेन्द्र श्रेष्ठ आरुघाट