भूमि रक्षाको लागि धादिङबेसीमा भारत विरुद्ध प्रदर्शन

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २४, २०७६

धादिङ कार्तिक २४ । धादिङबेसीमा नेपाल विद्यार्थी संघले भारतले सिमा अतिक्रमण गरि नयाँ नक्सा सार्वजनिक गरेको भन्दै भारत विरुद्ध प्रदर्शन गरेको छ ।

नीलकण्ठ क्याम्पसबाट निस्केको विद्यार्थीको जुलुस बीचबजार हुँदै पुछारबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेवि संघ धादिङका अध्यक्ष इश्वर अधिकारीले नेपालको सिमा मिचेर भारतले नयाँ नक्शा सार्वजनिक गरी नेपाली राष्ट्रियता माथि आक्रमण गरेको बताएका थिए । नेपाली भुमि रक्षाका लागि सरकारले भारत सँगको कुटनितिक छलफल गर्न ढिलाई गरेको भन्दै छिटो भन्दा छिटो नेपाली भुमि फिर्ता गर्न सरकारले निर्णायक भुमिका खेल्नु पर्ने बताएका थिए ।

अध्यक्ष अधिकारीले कुटनितिक पहल सँगै सिमानामा सेना परिचालन गर्नुपर्ने बताउँदै सरकारको देखाउने राष्ट्रवाद र भित्रि राष्ट्रवाद उदाङ्गो हुँदै गएकोले सिमा रक्षाको लागि सरकारले महत्वपूर्ण कदम चाल्नेमा आशङ्का रहेको समेत बताएका थिए ।

र्यालीमा सहभागि विद्यार्थीले नेपाली भुमि फिर्ता गराउन भारत विरुद्ध चर्का नारा लगाएका थिए ।