बेनिघाटमा भारत विरुद्ध प्रदर्शन

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २२, २०७६

धादिङ कार्तिक २२ । नेपाली भूमि अतिक्रमण गरी भारतले नयाँ नक्सा जारी गरेको विरोधमा धादिङको बेनिघाटमा विरोध प्रदर्शन गरिएको छ । बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजारबासीहरुले स्वतःस्फुर्त रुपमा सडकमा उत्रदै भारत विरुद्ध नाराजुलुस गर्दै बजार परिक्रमा गरेका थिए ।

कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, भरतिय विस्तारवाद मुर्दावादको नारा लगाउँदै गरिएको प्रदर्शनमा बालकदेखि बृद्धा सम्म सहभागि भएको देखिन्थ्यो ।

मातृभूमि लिम्पियाधुरा, लिपुलेक, कालोपानी हाम्रो तर पनि भारतले आफ्नो नयाँ नक्सामा कायम गर्यो हाम्रो मातृभुमि प्राणभन्दा प्यारो छ भन्नेहरु आज सेलाएका छन् हामी नेपालीहरु भारतिय हस्तक्षपको विरुद्ध लाग्नै पर्छ त्यहि अनुरुप बेनिघाट बजारबासी सडकमा आएको स्थानिय दिपेश कडेलले धादिङपोष्टलाई बताए ।

लठ्ठी टेक्दै विरोध प्रदर्शनमा सहभागि ८६ वर्षिय चिरञ्जिवि विश्वकर्माको आक्रोस युवा जोस् जस्तै देखिन्थ्यो । शिर उचो बनाएर हिड्ने हामी नेपाली सिमाना मिचिदा किन चुप बस्ने, अब देश विदेश छरिएर रहेका युवाहरु जाग्नु पर्ने बला आएको बताएका थिए । र्याली समापनमा केहि मिनेट मागेर मन्तव्य दिएका उनले पुर्खाले जोगायको नेपाल अब युवाले जोगाउनु पर्ने बताए ।