महोत्सवमा नगरपालिकालाई शव बहान हस्तान्त्रण गर्दैछौं -श्रेष्ठ

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २०, २०७६

धादिङ कार्तिक २० । जिल्ला होटल संघ धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले गत महोत्सवको आम्दानीबाट खरिद गरिएको शव बहान आगामी मंसिरमा हुने महोत्सवमा नीलकण्ठ नगरपालिकालाई हस्तान्त्रण गरिने बताएका छन् ।

आगामी मंसिर १३ देखि २३ सम्म धादिङ पर्यटन महोत्सव तथा व्यापार मेला गर्न लागेको होटल संघ धादिङले विगतको प्रतिवद्धता अनुरुप शवबहान खरीद प्रक्रिया सकिएको र महोत्सवमा नगरपालिकालाई हस्तान्त्रण गरिने अध्यक्ष श्रेष्ठले धादिङपोष्टलाई बताएका हुन् ।

महोत्सव विथल्न सकिन्छ कि भनेर केहि मानिस होटल संघको दुस्प्रचार गरेको बताउँदै अध्यक्ष श्रेष्ठले भने हामीले गरेको प्रतिवद्धता पुरा गरेरै छाड्छौं । शव बहान खरीद गरि सकेका छौं । हिसाव किताव सबै लेखा परिक्षणमा समावेश गरिएको बताउँदै श्रेष्ठले महोत्सव कसैको उक्साहटमा रोकिने र हुने हुँदैन होटल संघले जिल्ला प्रशासन र नगरपालिका सँग स्वीकृती लिएर आयोजना गर्न लागेकोले तोकिएकै समयमा हुने बताए ।

गत वर्षको आम्दानीले शव बहान खरीद गरे जस्तै यस वर्षको आम्दानी पनि समाजमा देखिने गरि सामाजिक काममा लगाईने उनको दावी छ ।