धादिङमा केहि दिनको अन्तरालमा दुई महोत्सव हुँदै

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १८, २०७६

धादिङ कार्तिक १८ । धादिङबेसीमा केहि दिनको अन्तरालमा जिल्ला होटल संघ र धादिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेका छन् ।

आगामी मंसिर १३ गते देखि २३ गते सम्म जिल्ला होटल संघले धादिङ पर्यटन महोत्सव तथा व्यापार मेला र धादिङ उद्योग वाणिज्य संघले पुस ११ देखि २१ गते सम्म सातौं धादिङ महोत्सव गर्न लागेका हुन् ।

पहिलो धादिङ महोत्सव पछिका जति पनि धादिङमा विभिन्न महोत्सव भएपनि धादिङ पहिचान र धादिङ चिनाउने कुनै पनि सामाग्री पर्दशनी नहुँदा आयोजकहरु आलोचित बन्दै आईरहेको बेला फेरि केहि दिनको अन्तरालमा हुने दुई महोत्सवलाई आयोजकले कसरी आकर्षण योग्य बनाउन सक्छन् त्यो भने हेर्न बाँकी रहेको छ ।

नाम धादिङ महोत्सव हुने तर सँस्कृतिक कार्यक्रम, रमाईलो मेला र व्यापारिक स्टल मात्र हुने विगतका महोत्सवबाट पाठ सिक्दै धादिङ र धादिङको पर्यटनको झल्को दिने गरि भव्य रुपमा एउटा महोत्सव हुनु पर्ने पनि जिल्लामा आवाज उठ्न थालेको छ ।

होटल संचालनकहरु पनि व्यवसायी हुन्, व्यवसाय प्रवद्धनका लागि स्थापना भएको उद्योग वणिज्य संघले होटल संघलाई मिलाएर २ वटा हैन एउटै महोत्सव गर्न सुझाव र दवाव पनि सृजना हुन थालेको छ ।

प्रतिवद्धता पुरा गर्नु पर्दैन, खै शव बहान ?

गत वर्ष जिल्ला होटल संघले महोत्सव गर्दा महोत्सवको आम्दानीले शव वहान खरिद गर्ने घोषणा गरेको थियो । जिल्लामा एउटा पनि शव वहान नभैरहेको अवस्थामा जिल्ला होटल संघले शव वहान खरीद गर्ने गरि आयोजना गरेको महोत्सव भव्य रुपमा सम्पन्न भएको थियो । तर अर्को महोत्सवको मिति सार्वजनिक हुँदा समेत जिल्लामा होटल संघले शव वहान खरीद नगरेको प्रति स्थानीयहरु भने आक्रोशित बनेका छन् ।