कुलो निमार्ण: १९ घर कुमालको १२० रोपनी जग्गा सिंचाई हुने

Avatar photo
Dhadingpost
जेष्ठ ४, २०७६

धादिङ जेष्ठ ४ । धादिङबेसी नीलकण्ठ नगरपालिका वडा नं. ८ मुरलीभञ्ज्याङ्का १९ घर कुमालहरुको १२० रोपनी जग्गा सिंचाई हुने गरि कुलो निमार्ण भएको छ ।

एक्सन नेपाल धादिङले नीलकण्ठ नगरपालिका र युएनडिपीको आर्थिक सहयोग र स्थानियको समेत श्रमदानमा उक्त सिंचाई कुलो निमार्णकार्य सम्पन्न भएको हो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना र नेपाल सरकार भुमिसुधार व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल, युएनडिपीका प्रतिनिधि कल्पना सरकार लगायतले शनिबार बडागरा सिंचाई कुलो स्थलगत निरिक्षण गरेका छन् । स्थलगत निरिक्षण पछि स्थानियहरु १९ घर कुमालहरु सँग उनीहरुले अन्तरक्रिया गरेका थिए ।

कुलो निमार्ण सम्पन्न भएको छ अब यो जग्गामा मैले निर्वाहमुखि खेति गरेको देख्न नपरोस् भन्दै प्रमुख ढुङ्गानाले व्यवसायीक र अधुनिकीकरणका साथ खेती गर्न स्थानीयलाई आग्रह गरे । अर्गानिक तरकारी खेती गर्नुहोस्, भैसी, बाख्रा पाल्नु होला नगर पालिकाले कस्तो सहयोग गर्नु पर्छ त्यसको लागि तयार रहेको ढुङ्गानाले बताएका थिए ।

यस्तै मन्त्रालयका सहसचिव पौडेलले विपन्न कुमाल समुदायलाई लक्ष्यित गरि सम्पन्न भएको यस परियोजना आफु निकै प्रभावित भएको बताएकी थिईन् । उनले यस सिंचाई हुने क्षेत्रमा धान मकैबाट भन्दा अन्य तरकारी बालीबाट फाईदा हुन सक्न भन्दै सिप र सहयोगको लागि स्थानिय सरकारलाई अनुरोध समेत गरेकि थिईन् ।

कुल ८ लाख १७ हजार १९३ रुपैया लागतमा सम्पन्न भएको यस कुलो अवलोकनको लागि वडा अध्यक्ष, सदस्यहरु, पत्रकार लगायतको समेत सहभागिता रहेको थियो ।