बोक्सीको आरोपमा ७३ वर्षिय महिला माथि निर्घात कुटपिट

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २, २०७५

धादिङ मंसिर २ । धादिङको सिद्धलेक गाउँपालिका ४ सलाङ गौँथलेमा एक वृद्ध महिला माथि बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपीट भएको छ ।

कुटपीटबाट एकल महिला ७३ वर्षिय सेती माया ल्हायो मगर गम्भिर घाइते भएकी छिन् । उनलाई थप उपचारका लागि काठमाडौंको स्टार अस्पतालमा भर्ना गरिएको छ ।

‘मेरी हजुर आमालाई बोक्सीको आरोपमा निर्घात हुने गरी कुटपीट गरियो । मलमुत्र पनि खुवाएका रहेछन् । घरमा रुवाबासी भएपछि दोस्रो दिन प्रहरीले चार जनालाई पक्राउ गर्यो,’ घाइते पीडित लायोकी नातिनी जुना मगर पौडेलले भनिन्,‘नेपाली सेनाको जवानले नै मुख्य रुपमा कुटपीट गरे ।’

कार्तिक २८ गते साँझ ७ बजे ३ जना धामी र एक नेपाली सेनाको जवान मिलेर एकल महिला लायोमाथि बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपीट गरिएको हो ।

पीडित परिवारका अनुसार बृद्ध महिलालालाई कुटपीट गर्न धामीहरु ५५ वर्षिय हर्क बहादुर पुलामी, ६० वर्षिय खोल बहादुर पुलामी ४० वर्षिय यम बहादुर मगर र नेपाली सेनाको कुलेखानी गणमा कार्यरत धन बहादुर थापा मगर संलग्न थिए ।

कुटपीटमा संलग्न चारै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा समलग्न सेनाका जवान मगर भागेका थिए । प्रहरीको सक्रियतामा उनलाई केही बेरमै पक्राउ गरिएको थियो । पीडित परिवारका अनुसार घाइते सेती मायालाई गोबर र दुवो समेत खुवाइएको थियो ।