काठमाडौं, असोज ७ । अस्पताल ल्याउनुअगावै बाटोमै मृत्यु भइसकेको एक बच्चा जिउँदै छ भन्दै स्थानीयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तोडफोड गरेका छन्।
कुटपिटबाट अहेव महानारायण परसेलाको घाँटीमा चोट लागेको छ। आक्रोशित स्थानीयले अस्पतालको कम्प्युटर, इसिजी मेसिनसहितका उपकरण तथा शवगृहसमेत तोडफोड गरेका छन् ।
सप्तरीको रुपनी गाउँपालिका–६ स्थित तेरहौता वीरेन्द्र बजारबाट दुई सयको संख्यामा आएका मृतक बच्चाका परिवारजन तथा आफन्तले आकस्मिक कक्षका चिकित्सकमाथि दुर्व्यवहार गर्दै अर्का अहेवलाई कुटपिटसमेत गरेका छन्।
यसरी भयो घटना
वीरेन्द्र बजारका अशोक साहका दुई वर्षीय छोरा आरभलाई शुक्रबार दिउँसो खुट्टामा चोट लागेर रगत निस्किएपछि बाबुले डिटेल लगाएर खेल्न छाडिदिएका थिए । त्यसको केही घन्टामा छोरा एक्कासि बेहोस भएपछि साँझ उपचार गर्न गाउँकै एक मेडिकलमा लगे ।
तर, त्यहाँ उपचार सम्भव नभएपछि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पु¥याएको जानकारी आफूले पाएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए ।
तर, युनिक अस्पतालले बच्चाको मृत्यु भइसकेको जानकारी दिए पनि परिवारले उपचार गराउन राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याए ।
शनिबार बिहान मृतक बच्चाका परिवारले चाँडै पोस्टमार्टम गरी शव दिन माग गरेको र सोहीअनुसार प्रहरीमा निवेदनसमेत दिएको थियो । तर, शनिबार बिहान बच्चाको घरमा एउटा दुलो देखिएपछि खन्दा गोमन सर्प फेला परेपछि स्थानीयले डिब्बामा बन्द गरेर सर्पसहित अस्पताल आए ।
त्यतिवेला शवगृहमा रहेको बच्चाको आँखा खुल्ला रहेको र आँसु बग्दै गरेको आफन्तले देखेपछि बच्चा जिउँदै रहेको भन्दै अस्पतालसँग बच्चा माग्न थाले ।
‘बच्चाको मृत्यु भएको यकिन भइसकेपछि हाम्रो काम समाप्त भइहाल्छ,’ अस्पतालका मेसु दासले भने, ‘त्यसपछि प्रहरीको पत्रअनुसार मात्रै हामीले पोस्टमार्टम गरिदिने हो, त्यसअगाडि हामीले बच्चा दिन नसकिने कानुनी जटिलता रहन्छ ।’
तर, अस्पतालले जिउँदै रहेको बच्चालाई शवगृहमा रातभरि राखेको र अहिले बच्चा दिन नमानेको भन्दै गाउँबाट थप दुई सयको संख्यामा आएका स्थानीयले अस्पताल तोडफोड, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए ।
शवगृह तोडेर बच्चालाई थप उपचार गर्न सिरहाको चौहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । तर, बच्चाको मृत्यु भएको जानकारी पुनः आफन्तले पाएपछि फेरि राजविराज अस्पताल लगिएको थियो ।
परिवारकै लापरबाही
बच्चालाई समयमै उपचार गर्न लगेको भए उनको ज्यान जोगिन सक्थ्यो । तर, परिवारले बच्चालाई सर्पले टोकेको थाहा नपाई दुई तीन घन्टा घरमै राखेर बेहोस भएपछि मात्रै अस्पताल पु¥याएपछि उपचार हुन नसकेको हो ।
‘बच्चाको खुट्टामा सर्पले टोकेको निसान नै थियो, अनि बच्चा निलो हुन थालेको थियो,’ एक चिकित्सकले भने, ‘तर, परिवारले सर्पले टोकेको ठाउँमा डिटेल लगाइदिएर बस्यो, अनि समयमा अस्पताल नपुर्याई बाटोमै मृत्यु हुँदाचाहिँ दोष हामीमाथि थुपार्ने काम मात्रै भएको छ ।
