काठमाडौँ, भदौ २२ । बूढानीलकण्ठस्थित करिब १० करोड बराबरको चन्दनकृष्णको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनैलाई पत्तो नदिई बेचिदिएका छन् ।
नक्कली जग्गाधनी खडा गरेर कायस्थको ४० आना जग्गा बुधबार बिक्री भएको हो ।
मालपोत कार्यालयमा रहने स्रेस्तामा नै उनको फोटो उप्काएर अर्को व्यक्तिको फोटो राखी नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री भएको खुलेको हो । प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
योजनाअनुसार नै मालपोत कार्यालयमा राखिने जग्गाधनीको स्रेस्तामा कायस्थको फोटो उप्काएर गौतमको फोटो टाँसियो । कायस्थकै नाममा नक्कली नागरिकता र लालपुर्जा तयार भयो र जग्गा बिक्रीको प्रक्रिया अघि बढाइएको थियो । मालपोत कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी उनीहरूले जग्गा पास गराएका थिए ।
महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुनील मल्लका अनुसार किर्ते कागजपत्र बनाई जग्गा बेच्ने प्रदीपकुमार गौतम तथा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराई पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार भूमाफियाको एक समूहले मालपोत र नापी कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर सो जग्गा बिक्रीको योजना बनाएका हुन् ।
