विराटनगर, भदौ २० । मोरङको कानेपोखरी गाउँपालिका– ५ की २३ वर्षीय कल्पना दर्जीले आइतबार ६ वर्षीय छोरा रेशमको हत्या गरेको छ ।
माइतीमा पुगेर छोरालाई खोलाले बगाएको बताएपछि बालकको खोजीका लागि जुटेका थिए । नाबालकको खोजीमा निस्किएका माइती पक्षले नै शंका गरेर कल्पनालाई केरकार गरे । अन्तत कल्पना आफैँले छोरालाई खोलामा धकेलेको स्वीकार गरिन् ।
खोलाले बगाएर मृत्यु भएका बालकको शव घटनास्थलबाट एक सय मिटर तल अल्झिएको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीको टोलीले भेट्टायो ।
श्रीमान् श्याम दर्जीको किटानी जाहेका आधारमा प्रहरीले कल्पनालाई पक्राउ गरेको छ । कल्पनाले पनि श्रीमानको रिसले पहिले छोरालाई खोलामा धकेलेको स्वीकार गरेकी छिन् । पछि माया लागेर खोज्न जाँदा छोरालाई खोलाले बगाइसकेको उनले प्रहरी समक्ष बयानमा भनेकी छिन् ।
श्रीमान् श्यामले सधै मादक पदार्थ सेवन गरी आउने गरेको । घरमा आफूलाई खाना लाउन पनि नपुगेको । यस्तो अवस्थामा छोरालाई कसरी पाल्नु भने आवेशमा आएर खोलामा धकेलिदिएको उनले बताएकी छिन् ।
आठ वर्षअघि कल्पना र श्यामको विवाह भएको थियो । अहिले निगुरो बेचेर कल्पनाले जिविकोपार्जन गर्दै आएकी थिइन् । श्याम र कल्पनाबीच सम्बन्ध राम्रो नभएका कारण उनी कहिले घर त कहिले माइती बस्दै आएकी थिइन् ।
अदालतबाट म्याद थप भएसँगै कल्पनामाथि अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीलदे बताएका छन् ।
