विद्युतको नहर बगाएपछि चारहजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य

Avatar photo
Dhadingpost
भदौ १२, २०७५

जाजरकोट, भदौ १२ । बाढी र पहिरोले विद्युत्को नहर बगाएपछि यहाँका चार हजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।

जिल्लाको नलगाड नगरपालिकाको वडा नं २, ३, ४ र ५ को बीचमा रहेको झुर्मेखोलामा गत साउन २९ गते आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका छ वटा लघुजलविद्युत् आयोजना बन्द भएका हुन् ।

बाढी पहिरोले आठ किलोवाटको सिलिपलाउन लघुजलविद्युत्, १५ किलोवाट सिलिपलाउन स्याँला धर्मशाला लघुजलविद्युत्, ४५ किलोवाटको बागमारे लघुजलविद्युत्, १५ किलोवाटको झुमराखोला लघुजलविद्युत्, १६ किलोवाट लहरेखोला लघुजलविद्युत् र १३ किलोवाट लहरे लघुजलविद्युत् आयोजनाको नहर र विद्युत् उत्पादनगृहमा क्षति पु¥याएपछि पूर्णरूपमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् अभावमा स्थानीय बासिन्दाका साथै सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालयलगायत सङ्घसंस्थाको काम प्रभावित भएको छ । बाढी र पहिरोबाट यहाँका ८२ घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । नलगाड नगरपालिकामा मात्र ५५ वटा घट्ट, सयौँ
मुरीको धान खेतसमेत बाढीले बगाएको छ ।

बाढीले सबै लघुजलविद्युत् आयोजनाको दुई सयदेखि तीन सय मिटर पक्की नहर बगाएको वडा नं ४ का अध्यक्ष प्रचण्ड ओलीले बताए । विद्युत् आपूर्ति बन्द भएपछि नलगाड नगरपालिका २, ३, ४ र ५ वडाका चार हजार घरपरिवार विद्युत् सेवाबाट बञ्चित भएको नगरप्रमुख टेकबहादुर रावलले बताए ।