दुधौली नगरपालीकाले सिफारिस तथा व्यक्तिगत दर्ता निःशुल्क

Avatar photo
Dhadingpost
भदौ ७, २०७५

सिन्धुली, भदौ ७ । विभिन्न स्थानीय तहहरुले अत्याधिक कर असुली गरिरहेको भन्ने समाचार आइरहेका बेला यहाँको दुधौली नगरपालिकाले भने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गरेको छ ।

स्वास्थ्य उपचार, दैवी प्रकोप, छात्रवृत्ति सिफारिस, विपन्नता, भुूकम्प प्रभावितको नक्सा पास दस्तुर सिफारिस निःशुल्क गरिने नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिए ।

त्यस्तै, स्वास्थ्य सेवा सञ्चालन अनुमति, योजनाहरुको सम्झौता, विद्यालयको बैंक खाता सञ्चालन सिफारिस, विद्यालयमा कर्मचारी र शिक्षक अस्थायी र करार पदपूर्ति अनुमति, विद्यालयको नामाकरण, अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्ने सिफारिस निःशुल्क गरिने उनले बताए ।

नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै व्यक्तिगत घटना दर्ताअन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ दर्ता ३५ दिनभित्र दर्ता गराए निःशुल्क र त्यसपछि ५० रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।