काठमाडौं, भदौ ६ । गाईले जस्तो दुध दिन्छ त्यस्तै खान पाइन्छ त ? प्रश्न खस्न नपाउँदै नियमित दुध किनेर खाने उपभोक्ताको उत्तर आउँछ त्यस्तै खान पाउन त आफैं गाई पाल्नु पर्छ ।
विक्रेताले दुधमा पानी वा बाक्लो बनाउन खाने सोडा मिसाउने गरेका छन् । शहरका उपभोक्ताले खाने दुधमा मात्रै होइन, गाउँमा पुग्ने तेल, साना बजारमा पनि पाइने मिठाई, हरेक घरको भान्सामा पुग्ने दाल, चामलमा पनि मिसावट हुने गरेको सरकारी अनुगमले यसअघि नै पत्ता लगाइसकेको छ ।
६ महिनाअघि मिसावट गर्ने २२ उद्योग विरुद्ध एकैपटक मुद्दा दायर भएको थियो । तर खासै कारवाही भएन । अब भने खाद्यान्नमा मिसावट गरे जेल र जरिवाना दुईटै हुने भएको छ । नेपालको संविधानले खाद्य अधिकारलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १०७ मा खाद्य पदार्थमा मिसावट गर्न नहुने उल्लेख छ ।
सर्वसाधरणले खाने, पिउने वा सेवन गर्ने पदार्थमा खाने, पिउने वा सेवन गर्न नहुने हानिकारक पदार्थ, कमसल पदार्थ वा हानिकारक रासायनिक पदार्थ मिसावट गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । म्याद नाघेको वा मिसावट भएको, निर्धारित स्तरभन्दा कम गुणस्तरको बस्तु विक्रिवितरण गरे पनि सजाय हुनेछ ।
बेसारको मिसावट भने पानीमा हालेर थाहा पाउन सकिन्छ । दुधको मिसावट गन्ध र त्यसको स्वादबाट थाहा पाउन सकिन्छ । खाद्यन्नमा मिसावटको खबर बेला बेला सार्वजनिक भइरहन्छ । अनुगमनपछि कार्वाहीको सिफासिर पनि हुन्छ तर खास कार्वाही हुँदैन । खाद्यन्नमा मिसावटका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परे अब उपभोक्ताले क्षतिपूर्ति पाउनेछन् भने व्यवसायीले कारवाही भोग्नुपर्ने छ ।
