काठमाडौ, भदौ ५ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।
व्यापारीसँग चन्दा असुलेको आरोपमा उनी पक्राउ परेका हुन् । विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीशहरू चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो । तर, आदेश आएकै दिन राति पुनः विश्वकर्मा पक्राउ परेक थिए ।
विश्वकर्माका तर्फबाट वीरेन्द्र विश्वकर्माले गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दायर गरेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेकाले उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
