काठमाडौं, साउन २९ । भदौ १ गतेदेखि कुनै पनि व्यक्ति १२ वर्षदेखि वेपत्ता भएमा मृत्यु भएको मानिने भएको छ ।
भदौ १ गतेदेखि लागु हुने मुलुकी देवानी संहिता ऐन २०७४ ले यस्तो व्यवस्था गरेको हो ।
ऐनको भाग २ को व्यक्ति सम्बन्धी कानूनको परिच्छेद १ प्राकृतिक व्यक्ति सम्बन्धी व्यवस्थाको दफा ४० मा यस सम्बन्धी व्यवस्था गरिएको छ ।
दुर्घटनाको अवस्थामा अर्को व्यवस्था समेत उल्लेख छ। उपदफा १ को प्रति बन्धात्मक वाक्यांशको खण्ड ३ तीन वर्ष उल्लेख भए पनि कुनै व्यक्तिको कुनै दुर्घटनामा परी मृत्यु भएकोमा त्यस्तो दुर्घटनामा पर्ने अर्को व्यक्ति जीवित रहेको प्रमाण प्राप्त नभएमा त्यस्तो व्यक्तिको पनि सोही बखत मृत्यु भएको मानिनेछ उल्लेख छ ।
‘कुनै दुर्घटनामा परी एकैसाथ एकभन्दा बढी व्यक्तिको मृत्यु भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक त्यसरी मृत्यु हुने प्रत्येक व्यक्तिको एकैसाथ मृत्यु भएको मानिनेछ,’ ऐनमा भनिएको छ, ‘तर कुनै खास प्रयोजनको लागि त्यसरी भएको दुर्घटनामा कुन व्यक्तिको पहिले मृत्यु भएको हो भन्ने प्रश्न निरुपण गर्नु पर्ने भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक मृत्यु हुँदाका बखत जुन व्यक्तिको उमेर बढी रहेको छ सोही व्यक्तिको पहिले मृत्यु भएको मानिनेछ ।
‘कुनै व्यक्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ,’ दफा ४० को मृत्यु भएको मानिने को उपदफा १ मा भनिएको छ ।
मृत्यु भएको मानिने अवस्थासमेत व्यक्ति अनुसार फरक उल्लेख छ । सोही उपदफामा ८० वर्ष उमेर पूरा भएको व्यक्ति वेपत्ता भएमा पाँच वर्षमा मृत्यु भएको मानिने छ। त्यस्तै युद्धस्थलमा खटिएको सैनिक भए युद्ध समाप्त भएको मितिले चार वर्ष, दुर्घटना भएको वायु यान, पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति भए त्यसरी दुर्घटना भएको मितिले तीन वर्षमा मृत्यु भएको मानिनले ऐनमा उल्लेख छ ।
