भिख माग्नेलाई एक महिना जेल, एक हजार जरिवाना

Avatar photo
Dhadingpost
साउन २८, २०७५

काठमाडौं, साउन २८ । राजधानीका मुख्य सडकको छेउछाउ, आकाशे पुल एवं पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु हामी सबैले देखेकै छौँ ।

कसैले गीत गाउने, बाजा बजाउने गरेर मागिरहेका हुन्छन् भने कसैले अस्पताल वा स्थानीय तहले दिएका सिफारिस देखाएर पनि माग्ने गरेका छन् । त्यतिमात्र होइन, लामो रुटको सार्वजनिक बसमा चढ्नुभयो भने सारंगी रेटेर एक दुई टुक्का गीत गाएर माग्नेहरु पनि भेटिन्छन् ।

तर, आउँदो भदौ १ गतेदेखि भने सडकमा बसेर वा घरघरमा डुलेर माग्न नपाउने भएका छन् । कसैले मागेमा उनीहरुले जरिवाना र कैद सजायसमेत ब्यहोर्नुपर्नेछ । मुलुकी अपराध (संहिता) ऐनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ ।

ऐनको दफा १२६ मा भनिएको छ ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन ।’

एक महिना जेल, एक हजार जरिवाना

पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा १ हजार जरिवाना लाग्छ । दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा उल्लेख गरिएको छ ।

तर, साधु सन्तलाई भने भिक्षा माग्न छुट दिइएको छ । ऐनको दफा १२६ को स्पष्टीकरणमा लेखिएको छ ‘कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पर अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा भिक्षा मागिएकोमा त्यस्तो कार्यलाई यसदफा अन्तर्गतको कसुर मानिने छैन ।

भिक्षा माग्नेलाई भन्दा माग्न लगाउनेलाई बढी सजायको व्यवस्था गरिएको छ । पहिलो पटक भिक्षा माग्न लगाएको भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना र दोस्रो पटकदेखि ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना लाग्नेछ ।