ठूलो बजार हिस्सा भएका भारतीय उत्पादनको प्लान्ट नेपालमै ल्याउन जोड

Avatar photo
Dhadingpost
साउन २३, २०७५

काठमाडौं, साउन २२ । भारतसँगको वाणिज्य (व्यापार) सन्धि पुनरावलोकनका लागि बिहीबारबाट भारतको नयाँदिल्लीमा द्विपक्षीय वार्ता सुरु हुँदैछ ।

यो वर्ष नेपालले ठूला भारतीय लगानीलाई नेपालमा भित्र्याउने विषयलाई उठाउने योजना बनाएको छ ।

सन् २००९ मा संशोधन भएको वाणिज्य सन्धिमा त्यसपछि पुनरावलोकन भएको छैन । लगातार भारतर्फको ब्यापार घाटा बढ्दै गएकाले नेपालले यसवर्ष निकासी प्रवर्द्धन र भारतीय ठूला लगानीलाई नेपालमै भित्र्याउन सक्ने गरी सन्धी पुरनरावलोकनको एजेण्डा बनाइएको छ ।

यसवर्ष ब्यापर सहजीकरणबाहेक भारतीय लगानीलाई नेपाल भित्र्याउने वातावरण तयार गर्न आफू तयार रहेको भन्दै सहजीकरणका लागि सहयोग गर्न भारत समक्ष नेपालले प्रस्ताव गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्षा नेपालको बढ्दो ब्यापार घाटाबारे जानकारी दिँदै सहयोग र सहकार्यका लागि आग्रह गरेका थिए ।

गत १६ वैशाखमा भएको नेपाल–भारत अन्तरसरकारी समिति (आर्इजिसी) बैबठमा वणिज्य सन्धि पुनरावलोकन गर्ने सहमति भएको थियो । सहमति अनुासर वाणिज्य मन्त्रालयका सहसचिव रबिशंकर शैँजु नेतृत्वको ८ सदस्यीय नेपाली प्रतिनिधि मण्डलले भारतसँग वाणिज्य सन्धि पुनरावलोकनका लागि वार्ता गर्न लागेको हो ।

दिनसम्म चल्ने वार्तामा नेपालले ब्यापार घाटालाई कम गर्ने गरी भारतीय पक्षसँग विभिन्न विषयमा नेगोसियसन गर्नेछ । नेपालले आफूलाई निर्यात गर्नेमात्रै नभएर उत्पादन गर्ने स्थलका रुपमा विकास गर्नका लागि सहयोग पुर्‍याउन वाणिज्य सन्धिमा लगानीको विषयमा सम्बोधन गर्न आग्रह गर्नेछ ।

हाल नेपालको सबैभन्दा ठूलो व्यापारघाटा भारतसँग छ । भारतबाट गत आर्थिक वर्षमा ८ खर्ब १० अर्ब ९० करोड ४८ लाख ६१ हजार रुपैयाँको सामाग्रीहरु आयात भएको छ । सोही अवधिमा ४६ अर्ब ६० करोड ४८ लाख ५६ हजार रुपैयाँको सामाग्री भारततर्फ निर्यात भएको छ ।