भक्तपुरमा अविरल वर्षा पछि पहिरोले २२ वटा घर भत्किए

Avatar photo
Dhadingpost
असार २९, २०७५

भक्तपुर, २९ असार । अविरल वर्षा पछिको पहिरोले भक्तपुरमा २२ वटा घर भत्किएको छ । बाढीले ५० घरका परिवार विस्थापित भएका छन् भने सयौँ प्रभावित भएको छ ।

दिनभरी त्रासमा रहेका बाढी प्रभावितले जाग्राम बसेरै रात बिताएका छन् । पानी पर्न कम भएसँगै बाढीको जोखिम कम भए पनि घरको भूईं तलामा जमेको पानी निकाल्न सकिएको छैन । केहीले मेसिन लगाएर घर भित्रको पानी फ्याँकेका छन् तर धेरैको घरमा पानी अझै पनि जमिरहेको छ ।

भक्तपुरमा चाँगुनाराण र सूर्यविनायक नगरपालिकामा रहेका कच्ची घर भत्किएको हो । हिजो भक्तपुरका ठिमी, सूर्यविनायक, चाँगुनारायण, जगाती, दुवाकोट, राधेराधे, लिबाली, सल्लाघारी, सृजनाचोक लगायतको क्षेत्र डुबेको थियो । बाढीले ५० घरका परिवार विस्थापित भएका छन् भने सयौँ प्रभावित भएका छन् ।

बाढी प्रभावितलाई सरकारले राहत वितरण गर्दैछ । बाढी र पहिरोका कारण भक्तपुरमा तिन जनाको मृत्यु भइसकेको छ ।

बाढीले घरमा रहेको समानसँगै गोदामहरु पनि डुबाएकाले करोडौँं रुपैयाँको नोक्सानी भएको हुन सक्ने अनुमान गरिएको छ । डुबान प्रभावित क्षेत्रमा लगत संकलनको काम भइरहेको छ । आज बेलुकीसम्ममा लगत संकलन सक्ने र क्षतिको विवरण सार्वजनिक गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।