धादिङमा एड्भान्स एकेडेमीले कानून विषय पढाउने

Avatar photo
Dhadingpost
असार १९, २०७५

धादिङ असार १९ । धादिङ जिल्लामा पहिलो पटक माध्यमिक विद्यालय तह (कक्षा ११ र १२ ) मा कानून विषयको पढाइ शुरु हुने भएको छ ।

धादिङबेसी स्थित एड्भान्स एकेडेमीले जिल्लामा पहिलो पटक यहि असार २५ गते देखि कानूनी संकायमा पढाई सुरु गर्ने भएको हो ।

देशमा कानून विषयका जनशक्तिको अभाव बढ्दै गएपछि यसलाई पूर्ति गर्ने उद्देश्यका साथ एड्भान्स एकेडेमीले कक्षा ११ र १२ मा कानून विषयको अध्ययनको शुरुवात गर्न लागेको प्रिन्सिपल गोविन्द बुढाथोकीले बताए ।

अहिले अदालत, कानून मन्त्रालयमा मात्रै नभई, संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय, प्रदेश र स्थानीय सरकारमा समेत कानूनका जनशक्ति पर्याप्त मात्रामा आवश्यकता पर्ने भएपछि विद्यार्थीको आकर्षण यसतर्फ बढेकोले जिल्लामा पहिलो पटक आफुहरुले कानून विषय पठनपाठन गर्न लागिएको समेत बुढाथोकीले बताए ।

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कानूनको पाठ्यक्रम अनुसार कक्षा ११ र १२ गरी दुई वर्षमा एक हजार पूर्णाङ्कको पाठ्यक्रम मध्ये कानून संकायमा ७०० पूर्णाङ्कको पाठ्यक्रम पढ्नु पर्नेछ । कक्षा ११ मा अनिवार्य नेपाली र अंग्रेजीबाहेक ३०० पूर्णाङ्क र कक्षा १२ मा अनिवार्य अंग्रेजीबाहेक ४०० पूर्णाङ्क कानूनको विषय अध्ययन गर्नुपर्ने हुन्छ ।

कक्षा ११ र १२ मा कानून अध्ययन गरेका विद्यार्थीले सिधै स्नातक तहमा कानून संकायमा अध्ययन गर्न पाउनेछन् भने अन्य संकायमा पनि सिधै अध्ययन गर्न पाउँछन् । कानून अध्ययन गरेको विद्यार्थीले स्वदेशमा मात्रै नभई विदेशमा समेत पर्याप्त मात्रामा अवसर रहेकाले यसतर्फ विद्यार्थीको आकर्षण बढेको छ ।