ट्रम्प र गठबन्धन राष्ट्रबीच मतभिन्नता

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७५

एजेन्सी, जेठ २७ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच क्यानडामा आयोजित ‘जी सेभेन’ शिखर सम्मेलनमा भएको वार्ता असफल भएको छ ।

अमेरिकी राष्ट्रपति र विश्वका प्रमुख औद्योगिक राष्ट्रका नेताबीच भएको बैठकमा के विषयमा सहमति भयो भनेर शनिबार अबेर सकिने जी सेभन राष्ट्रको शिखर सम्मेलनपछि जारी गरिन्छ वा गरिँदैन भन्ने विषय पनि अझै प्रष्ट नभइसकेको बिबिसीले उल्लेख गरेको छ। जी सेभेन राष्ट्रको दुई दिने शिखर सम्मेलन क्यानडाको क्युबेक प्रान्तस्थित ला मालबाई सहरमा भइरहेको छ। शनिबार शिखर सम्मेलन सकिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्प सिंगापुरमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनसँग मंगलबार हुने ऐतिहासिक शिखर वार्ताका लागि त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ।

ट्रम्प र विश्वका प्रमुख औद्योगिक राष्ट्रका नेता व्यापारलाई लिएर शुक्रबार विभाजित भएका थिए्। अमेरिकी गठबन्धनमा रहेका राष्ट्रहरु हालै मात्र ट्रम्पले स्टिल र आल्मुनियम आयातमा गरेको निर्णयपछि क्रुद्ध भएका छन्। अमेरिकी राष्ट्रपतिको पछिल्लो निर्णयले विश्व व्यापार युद्ध हुनेसम्मका चिन्ता व्यक्त भइरहेका छन्।

ट्रम्प र विश्वका अन्य ६ प्रमुख औद्योगिक राष्ट्रका नेताबीच व्यापार बाहेक अन्य विषयमा पनि विभाजित भएको बताइएको छ। जलवायु परिवर्तन, इरानसँगको सम्झौता र इजरायल–प्यालेस्टानइन द्वन्द्वको विषयमा अमेरिका र विश्वका ६ औद्योगिक राष्ट्रबीच मतभिन्नता रहेको बताइएको छ।

‘ट्रम्प समूहमा वार्ता गर्न रुचाउँदैनन् र जी सेभेन शिखर सम्मेलन सकिनुअघि नै उनी उत्तर कोरियाली नेता किम जोङ–उनसँग हुने ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर जाने छन् किनभने उनी एक्लै एक्लै हुने वार्तामा बढी विश्वास गर्छन्,’ बिबिसीले जनाएको छ।

एकताको गलत प्रभाव दिनुभन्दा अमेरिका र अन्य ६ राष्ट्रबीच रहेको मतभिन्नतालाई बसेर समाधान गर्नुपर्ने जर्मन चान्सलर एन्जेला मर्केलले जोड दिँदै आएकी छन्। सबै कुरा ठिक छ भनेर नक्कल गर्नुभन्दा वास्तविकतामाथि छलफल गर्नु नै उत्तम हुने मर्केलले तर्क राख्दै आएकी छन्। अन्य राष्ट्रले भने शनिबार अबेरसम्ममा सहमतिको बिन्दु भेटिने विश्वास व्यक्त गरेको बिबिसीले जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिका र विश्वका ६ प्रमुख औद्योगिक राष्ट्रबीचको मतभिन्नता समाधानमा प्रगति हुने विश्वास व्यक्त गरेको बिबिसीले जनाएको छ। उनले यस्तो बताए पनि ट्रम्पले अलग बस्ने नीतिमा कुनै शंका नरहेको जानकारहरुले बताएका छन्।