
मुम्बई, जेठ २३ । बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनय गरिरहेको अमेरिकी सो ‘क्वान्टिको ३’को अन्तिम भाग प्रियंकाकै लागि समस्या बनेको छ ।
सोमा देखाइएको एक दृश्यका कारण प्रियंका ट्रोलको शिकार बनेकी छन् ।
प्रियंकाले यो सोको तीन सिजनमा काम गरिसकेकी छन् । उनको एलेक्स पेरिसको भूमिकालाई दर्शकले पनि निकै रुचाएका थिए । केही दिन यता स्वदेशी तथा विदेशी मिडियामा प्रियंकाको प्रेम सम्बन्धलाई लिएर चर्चा परिचर्चा पनि भइरहेको छ । गत मेमा प्रियंकालाई अमेरिकी गायक निक जोन्ससँग केही स्थानमा सँगै भेटिएपछि उनीहरूबीच प्रेम अंकुराइरहेको चर्चा चलेको थियो । प्रियंका बलिउडमा भने करिब तीन वर्षपछि ‘भारत’मा देखिँदैछिन् । अलि अब्बास जफरको निर्देशन रहने फिल्ममा सलमान उनको जोडीकोे रूपमा रहनेछन् ।
प्रियंकाको यो सोको तेस्रो सिजनको टिआरपी रेटिङ पनि सोचेअनुरुप माथि जान सकेको छैन । अन्तिम भागको एक दृश्यमा भारतीयलाई मार्ने योजना बनाइरहेको देखाइएको छ । दृश्यमा बममार्फत उक्त व्यक्तिलाई मार्ने अनि सबै दोष पाकिस्तानलाई दिने योजना बनाइएको छ । प्रियंकाका प्रशंसक र सोका दर्शकले यो कुरा मन नपराएपछि सामाजिक सञ्जालमा प्रियंकाविरुद्ध आक्रोश बढेको हो ।
