भुकम्प पिडितको गुनासो, प्राविधिकले पैसा मागे

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १३, २०७५

धादिङ, जेठ १३ । धादिङको गल्छी गाउँपालिका–२ केउरीनीमा भएको सार्वजनिक सुनुवाईमा भुकम्प पिडितले प्राविधिकहरुले पैसा मागेको गुनासो गरेका छन् ।

प्राविधिकले खर्च लाग्ने भन्दै रकम असुलेको र घर पास गरिदिन्छु भन्दै गाउँमा पुनरनिर्माणका लागि खटिएका प्राविधिकले रकम मागेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले गुनसो गरेका हुन् ।

घर निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नु भएको र नक्सा पास गर्न प्राविधिकहरुले पैसाको वार्गेनिङ गर्दा लाभग्राहीले सास्ती व्यहोर्नु परेको सार्वजनिक सुनुवाईमा सहभागिहरुले आक्रोस पोखेका थिए ।

गल्छी गाउँपालिका–२ केउरीनीमा शनिबार गाउँपालिका र इन्सेकले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गल्छी गाउँपालिकाको उप प्रमुख राधा तिमल्सीनाले आर्थिक कारोबार गर्दा बिल लिएरमात्र गर्ने र वडामा राजश्व तिर्न तिरेको रसिद लिन र कसैले अतिरिक्त शुल्क मागेमा गाउँपालिकाकोअध्यक्ष र उपाध्यक्षलाई गुनासो गर्न आग्रह गरेकी थिइन् ।

सहभागीहरुले राखेको जिज्ञासामा गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीना, वडाअध्यक्षहरु पूर्णप्रसाद खतिवडा, षडानन्द खनाल र कपिल रेग्मीले सहजीकरण गरेका थिए ।