एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएका दुई बम आक्रमणमा परी केही पत्रकारसहित २५ जनाको मृत्यु भएको छ । तिनमध्ये समाचार संस्था एएफपीका काबुलस्थित प्रमुख फोटोग्राफर शाह माराई पनि रहेका छ ।
एक जना प्रहरी प्रवक्तालाई उद्धृत गर्दै एएफपीले पत्रकारको भेषमा आएका बम आक्रमणकारीले भिडमा विस्फोट गराएको जनाएको छ। रेडिओ फ्री युरोप (आरएफई) ले उसका दुई पत्रकारहरू पनि मारिएको पुष्टि गरेको छ । उनीहरू अब्दुल्लाह हानन्जाई र मोहर्रम दुर्रानी भएको बताइएको छ।
पहिलो विस्फोट मोटरसाइकलमा आएका एक जना आक्रमणकारीले गराएका थिए। पहिलो घटना भएको स्थानमा जम्मा भएका सञ्चारकर्मी र अरू सर्वसाधारणको भिडमा १५ मिनेट जतिपछि दोस्रो विस्फोट भएको थियो।
इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ। एएफपीले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै दोस्रो विस्फोट नियतवश पत्रकारहरूप्रति लक्षित भएको दाबी गरेको छ।
सोमवार भएको घटनामा कम्तीमा आठ जना पत्रकार र चार प्रहरीहरू मारिएको एक जना सरकारी अधिकारीले बीबीसीलाई बताए। अहिलेसम्म ४५ जना घाइते भएको बताइएको छ । एएफपीले वानटीभीका दुई, टोलो न्यूजका एक र जहाँ टीभीका एक पत्रकार मारिएको विवरण दिएको छ। इस्लामिक स्टेटले जारी गरेको एउटा विज्ञप्तिमा देशको गुप्तचर निकायको मुख्यालयलाई आक्रमणको निशाना बनाइएको बताइएको छ । आक्रमण भएको शाश्दारक क्षेत्रमा अफगानिस्तानको रक्षा मन्त्रालय, गुप्तचर सेवा कार्यालय र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको कार्यालय रहेका छन् ।
आरएफईका अनुसार हानन्जाईले लागुपदार्थबारे एउटा समाचार सामग्रीमा र दुर्रानीले महिलासम्बन्धी साप्ताहिक कार्यक्रमका लागि काम गर्दै थिए । घटनामा आरएफईकै लागि काम गर्ने अर्का एक जना पत्रकार पनि घाइते भएका छन् । अर्को समाचार संस्था रोएटर्सले आफ्नो एक फोटोग्राफर पनि छर्रा लागेर घाइते भएको जनाएको छ ।