१२ वर्षीय बालकसहित ५५ प्रदर्शनकारीहरूलाई गोली हानी हत्या

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १, २०७५

एजेन्सी । संयुक्त राज्य अमेरिकाले आफ्नो दूतावास जेरुसेलम सार्ने केही घण्टाअघि इजरेली फौजले गाजामा १२ वर्षीय बालकसहित कम्तीमा ५५ प्रदर्शनकारीहरूलाई गोली हानी हत्या गरेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छ ।

दूतावास सार्ने अमेरिकी निर्णयको इजराइलले स्वागत गरेको छ तर त्यसले व्यापक अन्तर्राष्ट्रिय विरोध निम्त्याएको छ ।

जेरुसेलमलाई इजराइलको राजधानीको रुपमा अमेरिकाले दिएको मान्यतालाई प्यालेस्टिनीहरुले विरोध गर्दै आएका छन् ।

गत ६ हप्तादेखि भएका व्यापक प्रदर्शनहरुको नेतृत्व गाजाको इस्लामवादी शासक हमासले गरिरहेको छ ।

ट्रम्पले उनको राष्ट्रपतीय चुनावी अभियानका क्रममा तेल अभिभबाट अमेरिकी दूतावास जेरुसेलममा सार्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए ।

प्यालेस्टानका अधिकारीका अनुसार उक्त हिंस्रक झडपमा कम्तीमा २ हजार ७ सय घाइते भएका छन् । जेरुसेलममा अमेरिकी दूतावासको उद्घाटनपूर्व उक्त हिंसा भएको हो । दूतावासको विषयमा प्यालेस्टिनी नागरिकले विरोध जनाइरहेका थिए ।

प्यालेस्टिनीहरुले यसलाई जेरुसेलममा इजरायली कब्जालाई अमेरिकी समर्थनको रुपमा हेरिरहेका छन् । प्यालेस्टिनीहरु जेरुसेलमको पूर्वी इलाका आफ्नो भएको दाबी गर्दछन् तर सो शहर कहिले विभाजित हुन नदिने इजराइलले बताउँछ ।

सोमबार अमेरिकाले जेरुसेलममा आफ्नो दूतावास खोलेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं ज्यारेड कुस्नरसहित उच्च अमेरिकी अधिकारीहरु सो उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।