काठमाडौं ,बैशाख २८। दीपाश्री निरौलाको निर्देशन रहने चलचित्र ‘छक्का पन्जा’को तेस्रो श्रृंखला ‘छक्का पन्जा ३’को छायाँकन सुरु भएको छ ।
शुक्रबार बिहान भक्तपुरको सुर्यविनायक मन्दिरमा पुजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो ।
‘दर्शकले लगातार दुई सिक्वेल मन पराएर चुनौती थपिदिनु भएको छ ’ निर्देशक दीपाले भनिन् ‘टिम मिलेर राम्रो चलचित्र बनाउने छौ ।’ आमा सरस्वती मुभिज प्रा।लि तथा आइ एम ईको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा दीपकराज, दीपिकासँगै, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, पुष्प खड्का, दीपिका प्रसाई र प्रियंका कार्कीको समेत अभिनय रहनेछ ।
बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य, चलचित्रका युनिट तथा रंग पत्रकारको बाक्लो उपस्थिती रहेको कार्यक्रममा कलाकार आचार्यले चलचित्रको सफलताका लागि शुभकामना दिए । ‘छक्का पञ्जा ३’ दीपकराज गिरी लेखन र दीपकसँग जीतु नेपाल, केदार घिमिरे र यामन श्रेष्ठको पटकथा सम्बादमा निर्माण हुन लागेको हो । काठमाडौ आसपास सहित चित्लाङ, दमैली र बाग्लुङ लगायतका स्थानमा छायाँकन गरिने चलचित्रको सुटिङ सेडुल ४५ दिन तोकिएको छ ।
दर्शकले छक्का पञ्जा ३ मा नयाँ जोडी हेर्न चाहिरहनु भएको थियो । त्यसैले अभिनेत्री दीपिका र पुष्पलको जोडी भित्र्याएका छौ ।
छक्का पन्जा टिमसँग काम गर्न पाउँनु आफ्ना लागि ठुलो कुरा भएको दीपिकाले बताइन् ।
अभिनेत्री दीपिका र पुष्पल यो सिक्वेलबाट ‘छक्का पन्जा’ छिटममा भित्रिएका हुन् । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रको सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने चलचित्रको छायाँकन पुरुषोत्तम प्रधानले गर्नेछन् । दशैंमा रिलिज गर्ने योजना सहित चलचित्र सुरु भएको हो ।