काठमाडौं,बैशाख २७। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ्ग उनसँगको भेटवार्ता र तीन अमेरिकी नागरिक रिहा भएको जानकारी आफैले ट्विटरमार्फत दिएका छन् ।
उनले ट्विट गरेका छन्, ‘मलाई यो जानकारी दिँदा निकै खुसी लागेको छ कि विदेशमन्त्री माइक पोम्पियो यतिबेला उत्तर कोरियाबाट फर्किने विमानमा छन् र उनको साथमा तीन अमेरिकी नागरिक पनि छन् । उनीहरुलाई भेट्न सबैजनाले व्यग्र प्रतिक्षा गरिरहेका छन् । उनीहरु सबैको स्वास्थ्य ठीक छ । यसका साथै किम जोङ्ग उनसँग भेटवार्ता गर्ने दिन र स्थान पनि तय भएको छ ।’
उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई रिहा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली नेता किम जोङ्ग उनले भेटवार्ता गर्ने मिति र स्थान निश्चित भएको बेला उत्तर कोरियाले अमेरिकी नागरिकहरुलाई मुक्त गरेको हो ।
उत्तर कोरियाको यस कदमलाई ऐतिहासिक भेटवार्ता अघिको सुखद संकेतको रुपमा लिइएको छ ।
ट्रम्पले किमसँग भेटवार्ता हुने मिति र स्थान भने तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
को हुन् रिहा भएका तीन अमेरिकी
उत्तर कोरियाले किम हक सोङ्ग, टोनी किम र किम डोङ्ग चुललाई मुक्त गरेको हो । यी तीनैजनालाई देश विरोधी गतिविधिमा सामेल भएको आरोपमा पक्राउ गरिएको थियो ।
ट्रम्पले अमेरिकी नागरिक रिहाइ गरेकोमा किम जोङ्ग उनको सराहना गरेका छन् ।