नयाँदिल्ली — बाह्रखम्बास्थित नेपाली दूतावासमा शनिबार अपराह्न भेटिएकी ४० वर्षीया रीता उनी रुँदै एउटै वाक्य दोहोर्याइरहेकी थिइन्, ‘मलाई चाँडै घर पठाइदिनुस् ।’
तीन महिनाअघि कुवेत पुगेकी उनी मालिकको अमानवीय व्यवहार र एजेन्टको यातना सहन नसकेर फर्किएकी हुन् । दूतावासमा ‘अस्थायी सेल्टर’ नभएका कारण उनलाई दिल्ली महिला आयोग र केआई नेपालका प्रतिनिधिको जिम्मा लगाइएको छ ।
‘खान पनि दिएनन्, मलाई निकै पिटे,’ उनी सुनाइरहेकी थिइन् । रीताले बेहोरेको यातना र पीडाको कथा करिब तीन महिनाअघि प्रारम्भ हुन्छ । गाउँकै शीला दिदीले राम्रो कमाइ हुन्छ भनेपछि उनैको खर्चमा पासपोर्ट बनाएर गाउँकै एजेन्टसँग रुपैडिहा नाका हुँदै दिल्ली पुगिन् । दिल्लीमा एउटा घरमा राखियो । उनीसँगै अरू चार नेपाली महिला पनि थिए । ‘उहाँहरू कहाँ जानुभयो, मलाई थाहा भएन,’ उनले बताइन् । एक साता दिल्ली बसेपछि शारजहाँको रुट हुँदै उनलाई कुवेत उडाइयो । कुवेत पुगेको केही दिनमै उनको नारकीय जीवन सुरु भयो ।
झट्ट हेर्दा घरमालिकको व्यवहार राम्रै थियो । कपडा धुने, भुईं पुछ्ने, भाँडा माझ्नेलगायत काम गर्नुपथ्र्यो । उठेदेखि राति सुत्ने बेलासम्म भ्याइनभ्याई हुन्थ्यो । काम गर्न खासै गाह्रो भएन । केही दिनमै मालिकको व्यवहार फेरिन थाल्यो । उनलाई नियमित खान दिइएन । विभिन्न बहानामा कुटपिट सुरु भयो । डेढ महिनासम्म यस्तै व्यवहार सहेपछि उनी घरमालिक नभएको मौका छोपेर त्यहाँबाट भागिन् । यसैबीच उनले कमाइका नाममा हात परेको ४० हजार रुपैयाँ घर पठाएकी थिइन् ।
यसैबीच उनका जेठा छोराले पनि गाउँकी ‘शीला दिदी’ लाई आफ्नी आमालाई फिर्ता बोलाउन धम्की दिएछन् । आफूहरू अप्ठ्यारामा पर्ने देखेर नचाहँदा नचाहँदै एजेन्टले नै टिकट काटेर पठाइदिएको उनले बताइन् । ‘अब जसरी पनि नेपाल जान्छु, भुलेर नि विदेश जाने सोच्दिनँ,’ उनले भनिन् ।
दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट कुवेत उडेकी रीताको सन्दर्भमा भने विमानस्थल अधिकारीको समेत लापरबाही देखिन्छ । उनको राहदानीमा घरेलु कामदारको नक्कली श्रमस्वीकृतिको स्टिकरसमेत टाँसिएको छ । तर, पछिल्लो समय ‘भिजिट भिसा’ लाई माध्यम बनाएर भारत हुँदै वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । भिजिट भिसामा जानेलाई भारतीय विमानस्थल अथोरिटीले एनओसी खोज्दैन । त्यसैको फाइदा उठाउँदै मानव तस्करले रीतालाई कुवेत पुर्याएका थिए ।