नीलकण्ठको बीएलई : पुनः अङ्क जाँचपछि किबोका दुई विद्यार्थी ४ जीपीएसहित उत्कृष्ट

Avatar photo
Dhadingpost
बैशाख १४, २०८३

धादिङ । नीलकण्ठ नगरपालिकाको कक्षा ८ (बीएलई) परीक्षाको नतिजामा रिटोटलिङ (पुनः जाँच) पछि उल्लेखनीय सुधार देखिएको छ । प्रारम्भिक नतिजाप्रति असन्तुष्टि जनाउँदै पुनः जाँच (रिटोटलिङ) मा गएका न्यू किबो बोर्डिङ स्कूलका दुई विद्यार्थीले अन्ततः ४.०० जीपीए हासिल गरेका छन् ।

नगरपालिकाले चैत २७ गते सार्वजनिक गरेको नतिजामा जेनिक रानाले ३.९४ जीपीए र अंकित लम्सालले ३.८६ जीपीए प्राप्त गरेका थिए । नतिजा अपेक्षाअनुसार नभएको भन्दै उनीहरूले रिटोटलिङका लागि आवेदन दिएका थिए । पुनः जाँचपछि दुवै विद्यार्थीको जीपीए बढेर ४.०० पुगेको नीलकण्ठ नगरपालिकाका स्रोत व्यक्ति मेघनाथ कोइरालाले जानकारी दिए ।

विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले विद्यार्थीहरूको क्षमतामा आफूहरू विश्वस्त रहेको बताउँदै रिटोटलिङपछि आएको सुधारले त्यो विश्वासलाई पुष्टि गरेको उल्लेख गरे । न्यू किबो बोर्डिङ स्कूलका कुल ४६ विद्यार्थीमध्ये २ जनाले ४.० जीपीए प्राप्त गरेका छन् भने ३९ जनाले ३.६१ देखि ३.९९ जीपीए (A+) ल्याएका छन् । साथै ५ जनाले ३.२० देखि ३.६० जीपीए (A) प्राप्त गरेका छन् ।

यस वर्ष नीलकण्ठ नगरपालिकाबाट कक्षा ८ (बीएलई) परीक्षामा कुल १,१९४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये १,१०१ जना उत्तीर्ण भएका छन् भने ९३ जना नन-ग्रेडेट भएका छन् ।

रिटोटलिङपछिको संशोधित नतिजासँगै नीलकण्ठ नगरपालिकामा ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या बढेर १२ पुगेको छ ।