दक्षिण कोरियाली राष्ट्रपति मुनले किम र उनको भ्रमण दलका ९ जनासँग दुई कोरियाको सीमा क्षेत्रमा भेट्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।
शुक्रबार उत्तर कोरियाली नेता किम जोङ उन दक्षिण कोरिया जाँदैछन् । उनी सन् १९५३ पछि दक्षिण कोरियाको भूमिमा पाइला टेक्ने पहिलो उत्तर कोरियाली नेता बन्दैछन् ।
हालै घोषणा गरिएको कार्यक्रम अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले उत्तर कोरियाली नेता उनसँग सीमा क्षेत्रमा शुक्रबार स्थानीय समय अनुसार विहान साढे ९ बजे भेट्नेछन् ।
यो ऐतिहासिक भेटवार्ता उत्तर कोरियाको आणविक हतियारका बारेमा केन्द्रित हुनेछ, जसले हालै आणविक हमला बन्द गर्ने संकेत देखाएको छ । दुई कोरियाको बढ्दो तनावका बीच हुन लागेको यो भेटवार्तालाई संवादको थालनीको रुपमा पनि लिइएको छ ।
‘दुई नेताले आणविक निशस्त्रीकरणका लागि कुन स्तरको समझदारी गर्न सफल हुन्छन् भन्ने विषय नै मुख्य समस्याको विषया हो’ दक्षिण कोरियाली राष्ट्रपतिका प्रवक्ता इम जोङ सिकले भनेका छन् ।
दुई कोरियाबीच यस्तै खालको भेटवार्ता तेस्रो पटक हुन लागेको हो । सन् २००० र सन् २००७ मा भएको यस्तै छलफलमा दुई कोरियाबीचको सम्बन्ध सुधार गर्ने भन्ने मौखिक प्रतिवद्धताबाहेक केही हुन सकेन ।