धादिङबेसी चैत्र २६ । धादिङको प्रतिनिधि सभा क्षेत्र नं.२ का सदस्य खेम लोहनीले उद्घाटन गरे सँगै क्षेत्र स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङको संयोजन र धादिङबेसी स्थित एड्भान्स एकेडेमीको आयोजनामा प्रतिनिधि सभा क्षेत्र नम्बर २ स्तरिय प्रतियोगित सुरुभएको हो ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य लोहनीले खेलकुद हरेका कक्षाका विद्यार्थीलाई आवश्यक रहेको बताएका थिए । विगत केहि वर्ष देखि सुरुहुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने विद्यालयहरुको संख्या घट्दै जानु दुखद पक्ष भएको भन्दै विद्यार्थीलाई खेलबाट बच्चित गरिन नहुने समेत लोहनीले बताएका थिए ।
यस्तै जिल्ला शिक्षा अधिकारी माधवराज शर्माले क्षेत्र र स्थान पाएक पार्न नसकिएकोले क्षेत्र नं. १ को खेल प्रभावित भएको र क्षेत्र नं २ मा स्थान र आयोजक विद्यालय सुगममा परे पनि परिक्षा सकिएको र नयाँ शैक्षिक सत्र सुरु हुने बीचको समय परेकोले समय अनुकुल हुन नुसेको प्रति जिल्ला खेलकुद विकास समितिको ध्यानाकर्षण गराएका थिए ।
कक्षा ८ मा ब्लाक बेल्ट, प्लस टु मा सुइमिङ र ड्राइभिङको लाइसेन्स-धादिङ गोर्खाली
आयोजक विद्यालय एड्भान्स एकेडेमी संचालनक समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) ले एड्भान्स एकेडेमीले अन्तराष्ट्रिय स्तरको शिक्षा दिँदै आएको दावी गरेका थिए । उनले एड्भान्स एकेडेमीले कक्षा ८ सम्मका विद्यार्थीलाई तेक्वान्दोमा ब्लाक बेल्ट दिने गरेको र प्लस टु सम्ममा सबै विद्यार्थीलाई स्वीमिङ् पुल र ड्राइभिङको लाइसेन्स दिने लक्ष्य बनाएको बताएका थिए । प्रिन्सिपल गोविन्द बुढाथोकिले गुणस्तरिय शिक्षा र स्वस्थ्यका लागि खेलकुदको पक्षमा कुनै कमि हुन नदिने बताएका थिए ।
एकै मञ्चमा तीन कार्यक्रम
क्षेत्र नं २ स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहको बीचमा एड्भान्स एकेडेमीले अन्य दुई कार्यक्रम समेत सम्पन्न गरेको छ ।
विद्यालयको शैक्षिक क्रियाकलापलाई इन्टरनेटको प्रयोग गर्दै धादिङमा नै पहिलो पटक मोबाइल एप्स सार्वजनिक गरी सकेको यस विद्यालयले फेरि धादिङमा नै पहिलो पटक युकेजीबाट कक्षा १ मा जाने विद्यार्थीलाई Graduation Ceremony कार्यक्रम गरि सम्मान गरिएको थियो । यस्तै कक्षा ८ का विद्यार्थीलाई तेक्वान्दो खेलको ब्लाक बेल्ट प्रदान गरिएको थियो ।
चैत्र २८ गते सम्पन्न हुने उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा नेपाली काँग्रेसका उपसभापति भक्त लामा, नीलकण्ठ नगरपालिकाका उप-प्रमुख, मनराज भण्डारी, प्यवसन केन्द्रिय समितिका उपाध्यक्ष शान्तविक्रम बानियाँ, जिल्ला खेलकुद विकास समिति धादिङका उपाध्यक्ष रमेश कोइराला कार्यालय सचिव कृष्णलाल श्रेष्ठ विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।