धादिङ बेनिघाट रोराङ चैत्र १० । धादिङको बेनिधाट रोराङ वर्डा न. २ मा रहेको रावलडाँडा आधारभूत विद्यालयले शिक्षकलाई तलव खुवाउन मौरी पानल गरेको छ ।
सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भए सँगै रावलडाँडा आधारभूत विद्यालयले शिक्षकलाई तलव खुवाउन मौरी पालन सुरुगरेको हो ।
नजिक विद्यालय नहुँदा विद्यार्थी माथिल्लो कक्षा अध्ययन गर्नको लागि टाढा जान नसक्ने कारणले गर्दा विद्यालय छाड्ने समस्या बढ्दै गएपछि विद्यालयको तह वृद्धिको लागि आयआर्जनको बाटो खोजेको रावलडाँडा आधारभूत विद्यालयका अभिभावक रामबहादुर रावलले बताए ।
कक्षा ८ सम्मको अनुमति भए पनि एक जनाले बालविकास केन्द्रको सहयोगमा पढाउने र एक प्राथमिक तहको दरबन्दीबाहेक कुनै शिक्षक नभएको यस विद्यालयमा कक्षा ८ सम्म २२४ विद्यार्थी पढ्ने गर्छन् ।
अहिले परीक्षणका रुपमा २० घार मौरी पालिएको छ । विद्यालयलाई गैरसरकारी संस्था युएमएन र प्रयास नेपालले आधुनिक मौरीको घार निःशुल्क उपलब्ध गराइदिएको थियो ।