धादिङ साहित्यका गुरु डिल्लीरमणलाई सम्झदै कविता वाचन

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ७, २०७४

सरस्वती खाणँ ठकूरी
धादिङ चैत्र ७ ।
धादिङ जिल्लामा सहित्यका गुरुका रुपमा परिचित स्व. साहित्यकार डिल्लीरमण शर्मा अर्यालको सम्झनामा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

धादिङ साहित्यिक समाजले साहित्यकार डिल्लीरमण शर्मा अर्यालको ८७ औँ स्मृति दिवसको अवसरमा बुधबार कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।

कविता वाचन कार्यक्रका प्रमुख अतिथि प्राध्यापक राजेन्द्र सुवेदीले डिल्लीरमण शर्मा अर्यालको नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान रहेको बताएका थिए ।

धादिङ साहित्यिक समाजका अध्यक्ष मुरारी अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगननाथ नेपाल, विष्णु कुमारी अर्ज्याल, प्रा.डा.रामचन्द्र लम्साल, बद्री प्रसाद दाहाल, डा.नविनबन्दु पहाडी लगाएतको आतिथ्यता रहेको थियो ।

समाजका सचिव गोविन्द बुढाथोकीको सन्चालन रहेको उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार देखि जिल्लाका साहित्यिकहरुले कविता वाचन गरेका थिए ।

वि.स. १९८८ चैत ७ गते धादिङ नलाङमा जन्मेका अर्यालका श्रीरङ्गस्तुति, वेदनीधि, गंगाजमुना, मुटु खायो, गुरुदक्षिणा, थोपल, नेपाल दर्शन लगायतका २५ वटा साहित्यिक, खोजमूलक र भाषा व्याकरणका कृतिहरु प्रकाशित छन् ।

कविता वाचन गदै डिल्लीरमणका छोरी दुर्गा रिजाल

बाबालाई सम्झँदा

सम्झेर जन्म दिनमा ममता चढायौं
बाबा कवित्व पथमा समता बढायौं
आएर दृष्टि गरियोस् कति सम्झँदैछौं
साहित्यका प्रखर व्यक्तिहरू यहाँ छौं

सन्तान हौं हजुरको ऋण तिर्नलाई
बाँड्दैछु काव्यिक खुशी लिनुहोस् रमाई
पायौं विशिष्ट कवि ज्यू यस आँगनीमा
टल्केर धादिड० बसोस् गुरु चाँदनीमा

सत्प्रेम अर्पण गरी शिर यो झुकाएँ
फोटो चुमेर भल अश्रु कतै लुकाएँ
साहित्य रम्झम हुँदा मन यो बुझाएँ
लेखेर छन्द कविता गुरुमा चढाएँ

जम्मा भएर गुणगान यहाँ हुँदैछ
आभार धादिड० बनी कविता रुँदैछ
यो दक्षिणा सुमन छन्द चढाउँदैछु
श्रद्धा अनन्त दिलको ममता दिँदैछु

साथी र संगत सखा पर दूरबाट
सम्झेर आगमनले खुश भो ललाट
आभार अर्पण गरें सब मान्यमाथि
हाम्रा सुपुज्य कविपुञ्ज र अन्यमाथि

दुर्गा रिजाल
हाल अमेरिका