बीबीसी, फागुन ३० । वैज्ञानिक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । ब्लक होल र रिलेटिभिटिबारे गहिरो अध्ययन गरेका वैज्ञानिक हकिङको निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
बेलायतको लण्डनस्थित क्याम्ब्रिजमा रहेको घरमा हकिनको निधन भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
चर्चित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका बेलायती लेखक समेत रहेका हकिन सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलकाबारे विभिन्न नयाँ तथ्य पहिल्याउने प्रखर वैज्ञानिक मानिन्छन् ।
सन् १९४२ मा जन्मिएका हकिन भौतिक विज्ञानका ज्ञातामात्र नभई क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत हुनुहुन्थ्यो ।
सन् १९६३ मा मोर्टन न्युरोन रोग लागेको पत्ता लागेपछि उहाँलाई चिकित्सकहहरुले २ बर्ष बाँच्ने बताएका थिए । तर चिकित्सकीय भनाइलाई चुनौती दिंदै हकिन आधा शताब्दीभन्दा धेरै बाँच्न सफल हुनुभयो । १९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा नेचुरल साइन्स पढ्ने अवसर पाएसँगै उहाँले क्याम्ब्रिजबाट विद्यावारिधी गर्नुभएको थियो । १९७४ मा उनले ब्ल्याक होलले ’हकिङ रेडियसन’ फाल्छ भन्ने सिद्धान्त प्रतिपादन गर्नुभएको थियो ।
१९८८ मा प्रकाशित उहाँले लेखेको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १ करोडभन्दा बढी प्रति विक्री भइसकेको छ । उहाँको जीवनीमा आधारित भएर सन् २०१४ मा ‘द थेउरी अफ एभ्रीथिङ’ नामक चलचित्र नै बनेको थियो ।
आफ्नो जीवनको लामो समय ह्वीलचेयरमा बिताउनुभएका उहाँले आफ्नो शारीरिक असक्षमतालाई पछि छोड्दै इच्छाशक्ति भयो भने कुनै दुर्बलताले रोक्दैन भन्ने प्रमाणित गर्नुभयो ।




