धादिङ महोत्सव-२०७४ सकियो

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २७, २०७४

धादिङ फागुन २७ । धादिङबेसीमा फागुन १६ गते देखि १२ दिन सम्म संचालन भएको धादिङ महोत्सव सम्पन्न भएको छ ।

धादिङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव राजनीतिक सहमति जुट्न नसकेपछि स्थगित भए सँगै साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्ला कार्यसमिति धादिङले महोत्सवको आयोजना गरेको थियो ।

राजनीतिक विवाद, उद्योग वाणिज्य संघको असहयोग र स्थानिय जनप्रतिनीधिहरुद्वारा वहिस्कृत धादिङ महोत्सव बाहिर आकलन गरिएभन्दा भव्य रुपमा सम्पन्न भएको हो । ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले बताएको छ ।

महोत्सव समापन कार्यक्रममा प्रमुख अतिथि भिमप्रसाद ढुङ्गानाले महोत्सवबाट भएको आम्दानीलाई सामाजिक कार्यमा जड्न आग्रह गर्दै नगरपालिकामा गर्ने सामाजिक कार्यमा नगरपालिकाले समेत पैसा थप गरिदिने बताएका थिए ।

कार्यक्रमका विशेष अतिथि रमेश धमलाले धादिङको समग्र पहिचान झल्कने गरि भएको भव्य महोत्सवमा निर्वाचित सांसदहरु, सिसिडयो, प्रहरी प्रमुख लगायतले वहिस्कार गर्नु राम्रो नभएको बताएका थिए । धमलाले निर्वाचित सांसदहरु प्रति इकित गर्दै भने के तपाईहरुले बहिस्कार गर्दैमा महोत्सव भव्य भएन त ? तपाईहरु पार्टी भन्दा माथि नउठे र यस्तै कार्य गर्दै गए अब गाउँ-गाउँबाट जनताले बहिस्कार गर्ने चेतावनी दिँदै जनताको मतको कदर गर्न आग्रह गरेका थिए ।