धादिङ माघ २९ । धादिङ जिल्लाको अत्यन्त रमणिय स्थल सिद्धलेक गाउँपालिका अन्तरगत नलाङ र सलाङको सिमानामा रहेको सिद्धलेकमा रहेको सिद्धबाबाको मन्दिरमा फागुन १ गते शिवरात्रीको अवसरमा हुने मेलाको अन्तिम तयारी सकिएको बताइएको छ ।
यसै रमणिय स्थलको नामबाट गाउँपालिकाको नामकरण गरिए सँगै विगतको भन्दा भक्तजनहरुको थप उल्लेख्य सहभागिता मेलामा हुने आयोजकले दावी गरेको छ ।
शिवरात्री मेलाको अवसरमा नलाङको चक्रदेवि युवा समाजले हरेक साल नलाङ ठाँटी देखि मेला स्थल प्रवेशद्वार सम्म दौड प्रतियोगिता गर्र्दै आएको छ । विजेतालाई नगद पुरस्कार समेत दिँदै आएको छ । यस वर्षपनि उक्त प्रतियोगिताले निरन्तरता पाउने बताईएको छ । दौड प्रतियोगिता बिहान हुने गर्दछ ।
नलाङ र सलाङको सिमानामा रहेको सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ । त्यसकै साथमा रहेको १५२५ मि. अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक साविकका ४९ वटा गा. वि. स. हरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।