मिन्दुकामा भागवत सप्ताह जारी, यस्तो छ लक्ष्य

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १२, २०७४

धादिङ सिद्धलेक माघ १२ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङको मिन्दुका माध्यामिक विद्यालयमा कक्षा ११ र १२ संचालनार्थ आजबाट श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ कथा एवम्, धार्मिक एवं शैक्षिक महोत्सव सुरुभएको छ ।

बिहिबार धादिङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य भुमिप्रसाद त्रिपाठीले बिहिबार उद्घाट गरे सँगै शुक्रबार बालतपस्वी पं. श्री उत्तम भट्ट महाराजको मुखारविन्दबाट कथा सुरुभएको हो ।यस धार्मिक एवं शैक्षिक महोत्सव माघ १८ गते अपरान्ह ४ बजे सम्म संचालन हुने छ ।

मिन्दुका स्कुलको यस्तो छ परिकल्पना

“समृद्ध सिद्धलेकको शैक्षिक सपनागुणस्तरीय शिक्षा मिन्दुका मा.वि.को परिकल्पना”

सिद्धलेक गाउँपालिकाको केन्द्र भागमा अवस्थित यस मिन्दुका मा.वि.लाई आगामी दिनमा एउटा नमूना विद्यालयको रुपमा स्थापित गर्नुपर्ने देखिएको छ । समुदायको चेतना स्तरमा युगान्तकारी परिवर्तन ल्याउन विद्यालयको भूमिका अहम् रहन्छ । विद्यालय समाजको ऐना हो, जहाँ सिँगो समुदायको तस्विर झल्कनु पर्दछ । समुदायको शैक्षिक जागरणमा रुपान्तरण गर्न नसक्दासम्म विद्यालयको दायित्व एवम् महत्व न्यूनीकरण भएको ठानिन्छ । विद्यालय नै समाज परिवर्तनको संवाहक हो भन्ने मूल मर्मलाई आत्मसात् गर्दै यस भेगमा रहेका वालवालिकाको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने जस्ता थप जिम्मेवारी यस विद्यालयले निर्वाह गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ ।  भुकम्पले क्षतविक्षत भवन, जीर्ण फर्निचर र खकस्दो शैक्षिक गुणस्तर नै यस विद्यालयको चुनौती रहेका छन् । गाउँपालिकाको मुटुमा रहेको यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरी समुन्नत समाज रुपान्तरणमा अग्रगामी भूमिका निर्वाह गर्नुपर्ने मूल दायित्वलाई मध्यनजर गर्दै विद्यालयको अल्पकालिन तथा दीर्घकालिन परिकल्पना तयार पारिएको छ । विद्यालयले अगाडि सारेका सकारात्मक चिन्तन, विचार र भावनालाई आत्मसात् गर्दै विद्यालयको चौतर्फी विकासमा आ–आफ्नो क्षेत्रबाट सरोकारवालाहरुको महत्वपूर्ण सुझाव, सल्लाह सहित आर्थिक तथा भौतिक सहयोग प्राप्त हुनेछ भन्ने समेत अपेक्षा गरिएको छ । अल्पकालिन परिकल्पना विद्यालयको नक्साङ्कनमा देखिएको संरचना अनुसारको विद्यालय परिसर निर्माण गर्न निम्न अनुसारको अल्पकालिन परिकल्पना अगाडि सारिएको छ ।  
१. विद्यालयमा शान्त एवम् शुरक्षित शैक्षिक वातावरण निर्माण गर्न विद्यालय परिसर घेराउ गर्ने पक्की पर्खाल निर्माण गरिनेछ । 
२. विद्यालयलाई कक्षान्नोति गरी कक्षा ११ र १२ सञ्चालनार्थ आवश्यक थप १० कोठे पक्की भवन यसै आर्थिक वर्ष भित्र
निर्माण गरिनेछ । 
३. वालवाकिलालाई शुद्ध पिउने पानी उपलब्ध गराउन स्रोतको समुचित सदुपयोग र व्यवस्थापन गरी विद्यार्थीको उमेर अनुकुलका दश वटा धारा सञ्चालनमा ल्याईनेछ ।  
४. हाल रहेका शौचालयको मर्मत गरी छात्र छात्राका लागि फरक फरक १÷१ वटा सुविधा सम्पन्न शौचालय थप गरिनेछ ।
५. विद्यालय परिसर प्रवेश गर्ने आकर्षक र पक्कि फलामे गेट निर्माण र गेटदेखि सबै भवन सम्म पुग्ने रेलिङ समेतो पक्की सिडी निर्माण गरिनेछ ।
६. विद्यालय परिसरमा विद्याकी देवी सरस्वतीको मन्दिर स्थापना गरिनेछ ।  
७. विद्यालयको तल्लो भागलाई पक्कि पर्खाल सहित खेल मैदानको क्षेत्रफल विस्तार र  माथिल्लो मैदानलाई पक्कि पर्खाल उठाएर फुलवारी बगंैचाको रुपमा विकास गरिनेछ साथै आवश्यक पुराना रुखहरुको संरक्षण र संवद्र्धनका अलाव आवश्यक वृक्षारोपण गरी विद्यालय परिसर हरियाली राखिनेछ । 
 ८. कक्षाकोठामा रहेका जीर्ण फर्निचर विस्थापन गरी क्रमशः वैज्ञानिक र बलियो आधार सहितको बालमैत्री फर्निचर निर्माण गरिनेछ । 
९. विद्यालयको शैक्षिक वातावरण अनुकुल बनाउन आवश्यक सोलार वत्तीको जडान गरिनेछ । 
१०. विद्यार्थीहरुलाई खेल जगतमा अभिरुचि जगाउन भलिवल, टेवलटेनिस, बास्केटवल जस्ता खेलहरुको आवश्यक पूर्वाधार तयार गरिनेछ ।११. बालकक्षाका विद्यार्थीहरुका लागि आवश्यक खेल एवम् अध्ययन सामग्रीको उचित व्यवस्थापन, कक्षा कोठामा श्रव्य दृष्य सामग्री सहित वैज्ञानिक कक्षा कोठा तयार गरी लघु बाल उद्यान समेत निर्माण गरिनेछ ।  
१२. आगामी शैक्षिक सत्रदेखि कक्षा १ र क्रमशः उपल्लो कक्षामा अंग्रेजी माध्यमबाट अध्यावन गराउँदै आधारभूत तहको शिक्षा अंग्रेजी माध्यममा प्रदान गरिनेछ र सोका लागि आवश्यक सक्षम जनशक्ति तयार गर्दै लगिनेछ । 
१३. हरेक कक्षामा रहेका अति कमजोर वालवालिकाहरुका लागि अभिभावकहरुसँग छलफल गरी अतिरिक्त कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । १४. रुम टु रिडको सहयोगमा स्थापित पुस्तकालय स्तरोन्नति गरी संचालनमा ल्याइनेछ । 
१५. कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउन कम्प्युटर प्रयोगशालालाई आधुनिक सुचना प्रविधिसँग जोडी थप व्यवस्थित गरिनेछ । 
१६. विज्ञान प्रयोगशालालाई व्यवस्थित गरी संचालनमा ल्याइनेछ । 
१७. पूर्व आधारभूत तह (कक्षा १ देखि ५) का वालवालिकाहरुका लागि निःशुल्क पोशाक, स्टेशनरी र दिवा खाजाको व्यवस्था गर्न स्थानीय तहमा रहेका संघ संस्थासँग साझेदारी विधि अपनाईनेछ । 
१८. वालवालिकाको सिकाई सक्षमता अभिवृद्धिका लागि कक्षा कार्य, गृहकार्य, विभिन्न शिक्षण विधि जस्तै प्रदर्शन, सामुहिक कार्य, परियोजना कार्य, निरन्तर विद्यार्थी मूल्याङ्कन तथा आवश्यकता अनुसार विद्यार्थी मैत्री सिकाई क्रियाकलापमा जोड दिँदै शिक्षकलाई तालिमको व्यवस्था एवम् निरन्तर अनुगमनको व्यवस्था मिलाई परिणाममुखी कार्यमा समर्पित रहन शिक्षकलाई प्रोत्साहन गरिनेछ साथै वैज्ञानिक कार्य सम्पादन मूल्याङ्कनद्वारा दण्ड र पुरस्कारको व्यवस्था गर्दै वर्ष शिक्षकको समेत प्रावधान राखी शिक्षकहरुलाई उत्प्रेरित गरिनेछ ।
१९. खेलकुद तथा मनोरञ्जनको माध्यमबाट वालवालिकाहरुको प्रतिभा प्रष्फुटन गराउन खेलकुद तथा सङ्गीत शिक्षकको दरबन्दी सिर्जना गरिनेछ ।  
२०. प्राथमिक उपचारका लागि न्यूनतम औषधि तथा उपकरण सहितको अ.न.मि.को दरबन्दी सिर्जना गरिनेछ
२१. विद्यालयको भौतिक सुरक्षाको लागि दिवाकालिन र रात्रीकालिन सुरक्षा गार्डको दरवन्दी सृर्जना गरिनेछ ।
२२. शिक्षक, विद्यार्थी र अभिभावक बीच निरन्तर भेटघाट, छलफल तथा अन्तरक्रियाका कार्यक्रमहरु बढाईनेछ । 
२३. विपन्न, अल्पसंख्यक, अपाङ्ग तथा असहाय वालवालिकाहरुका लागि सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्न विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी विशेष सुविधा सहुलियत प्रदान गरिनेछ । 
२४. शैक्षिक सत्र २०७५ देखि साधारण शिक्षा तर्फको कक्षा ११ संचालन गरी शैक्षिक सत्र २०७६ देखि नै कक्षा १२ सञ्चालनमा ल्याईनेछ ।२५. विभिन्न प्राविधिक क्षेत्रसँग सम्बन्धित प्राविधिक शिक्षा प्रदान गर्न आधारभूत पूर्वाधार तयार गरी संभाव्यता अध्ययन प्रतिवेदन तयार पारिनेछ । 
२६. आफ्ना छिमेकी विद्यालयहरुसँग समन्वय गरी शैक्षिक गुणस्तर श्रीवृद्धिमा आवश्यक कार्यक्रमको नेतृत्व लिइनेछ ।
२७. पूर्व विद्यार्थी, स्थानिय समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी तथा शिक्षाविद् संलग्न “मिन्दुका प्रबुद्व समूह” गठन गरी निरन्तर छलफल तथा अन्तरक्रिया गरिनेछ ।
२८. पूर्व शि.अ.संघ अध्यक्ष श्री शालीग्राम अर्यालयबाट प्रस्तुत शैक्षिक गुणस्तर सुधार  प्रतिवेदनलाई प्रबुद्ध समूह एवम् विज्ञहरुसँग छलफल र अन्तरक्रिया गरी परिमार्जन सहित प्रयोगमा ल्याईनेछ । दीर्घकालिन परिकल्पना   विकासशील राष्ट्रहरुको शिक्षा निति, उनीहरुले शिक्षामा गरेको लगानीसँग आर्थिक वृद्धिमा देखा परेका सकारात्मक सूचकहरुले यो पुष्ठी गरेको छ की शिक्षामा लगानी र प्रतिफलको अनुपातले नै आर्थिक सूचक निर्धारण गर्दछ । नेपालको संविधान २०७२ ले परिकल्पना गरेको लोक कल्याणकारी समुन्नत समृद्ध समाजवाद उन्मुख राज्य निर्माणको कार्यभार पूरा गर्न स्थानीय तहमा शिक्षामा व्यापक लगानीको खाँचो देखिन्छ । सिद्धलेकको समृद्धि र समुन्नतिमा कोशे ढुङ्गा बन्ने महान अभियानमा जुटेको यस श्री मिन्दुका माध्यमिक विद्यालयलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न तथा यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनको निम्ति निम्न अनुसारको दीर्घकालिन परिकल्पना तयार पारिएको छ । 
१. यस विद्यालयलाई सिद्धलेक गाउँपालिकाको स्रोत विद्यालयको रुपमा विकास गर्दै माविलेखोला देखि कालिदह क्षेत्रको केन्द्रमा रहने गरी महाविद्यालय (क्याम्पस) स्थापना गर्न अग्रणी भुमिका निर्वाह गरिनेछ । 
२. विषयगत शिक्षण प्रयोजनार्थ कक्षाकोठा व्यवस्थापन गरिनेछ । 
३. आधुनिक सूचना प्रविधिको विकासलाई हृदयङ्गम गर्दै सि.सि. क्यामेरा सहितको कक्षाकोठा संचालनमा  ल्याइनेछ । 
४. सम्पूर्ण पूर्वाधारको विकास गरी आधुनिक आकर्षक विद्यालय भवन एवं खेल मैदानको व्यवस्था गरिनेछ । 
५. कालिदहदेखि चनौटेखोलासम्म विद्याथीमैत्री सडक पेटी निर्माण गर्न स्थानीय तह संग समन्वय गरिनेछ । 
६. वालवालिकाहरुलाई स्वरोजगार वन्ने र श्रमप्रति सम्मान गर्ने भावनाको विकास गराई स्थानीय तहमा उत्पादनमूलक पेशागत सीप सम्बन्धि तालिम लिन पाउने व्यवस्था गरिनेछ । 
७. आधारभूत तहसम्म संचालन गरिएको अंग्रेजी माध्यमको पठन पाठनलाई स्तरोन्नति गर्दै कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट कक्षा संचालन गरिनेछ । 
८. यस विद्यालयको कार्य संचालन नीति,शैक्षिक गुणस्तर वृद्धि,भौतिक संरचना निर्माण गर्दा  यस विद्यालयमा अध्ययन गरेका अनुभवी, विज्ञ पूर्व विद्यार्थीहरुसँग राय, सल्लाह र सुझावका लागि छलफल तथा अन्तक्रिया गर्दै विद्यालयको सर्वाङ्गिण विकासका लागि “विद्यालय विकास विस्तृत परियोजना” तयार गरिनेछ ।  
९. यस विद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकसित गराउन आवश्यक अध्ययन सामग्री सहितको सुविधा सम्पन्न पुस्तकालय, कम्प्युटर प्रयोगशाला,विज्ञान प्रयोगशाला,सामाजिक शिक्षा प्रयोगशाला, सभाहलको व्यवस्था गरिनेछ । 
१०. रोष्टर शिक्षक एवम् विषय विज्ञहरु तयार पारि तालिम संचालन एवम् स्थानीय पाठ्यक्रम निर्माण गरी  कार्यान्वयनमा ल्याईनेछ ।
११. यस विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गर्न विद्यार्थी तथा शिक्षक आवासको निर्माण गरिनेछ ।

प्रधानध्यापक
गंगाप्रसाद रिमाल